सोल्टी होटलको सेयर बेचेर जहाज खरिद गर्न निगमलाई सुझाव

नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको सेयर बिक्री गरी नयाँ जहाज खरिद गर्न सुझाव दिइएको छ । निगम सुधारका लागि बनेको पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले प्रतिवेदन बुझाउँदै सेयर बिक्री गर्न सुझाव दिएको हो ।

निगमको स्वामित्वमा सोल्टी होटेल लिमिटेडको १ करोड ३ लाख हजार ६९९ कित्ता सेयर रहेको छ । मिति २०८०।०५।१९ मा उक्त सेयरको बजार मूल्य प्रतिकित्ता ४४३ देखिएको र उक्त बराबर ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रुपैयाँ पुगेको देखिन्छ । सोल्टी होटेल लिमिटेडको उक्त सेयर बिक्री गरी प्राप्त हुने रकमलाई नयाँ जहाज खरिदमा प्रयोग गर्न समितिले सुझाव दिएको छ ।

‘निगम नेपाल सरकारको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्था भएकाले नेपाल सरकारको पूँजी थप गरी आवश्यक मात्रामा जहाज थप गर्नुपर्ने देखिन्छ,’ आइतबार बुझाइएको प्रतिवेदनमा भनिएको छ । सोल्टी होटलको उक्त शेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्न उपयोग सकिने प्रतिवेदनमा उल्लेख छ ।

समितिले नेपाल वायुसेवा निगमलाई विद्युत प्राधिकरणको मोडालिटीमा सञ्चालन गर्न संरचनात्मक सुधारको सुझाव दिँदै जहाज थप गर्नैपर्ने प्रतिवेदन मन्त्रालयमा बुझाएको हो ।

नयाँ जहाज खरिदका लागि निगमले विभिन्न शीर्षकमा उठाउनुपर्ने रकम आर्थिक वर्ष २०७८÷०७९ सम्म २ अर्ब १९ करोड उपयोग गर्न सकिने बताएको छ ।

तीन महिना बढी समय लगाएर तयार गरिएको प्रतिवेदनमा समितिले निगमको व्यवस्थापकीय, मानव संसाधनदेखि व्यावसायिकतामा व्यापक कमीकमजोरी औँल्याउँदै सुधारका लागि दर्जनौँ सुझाव दिएको हो ।

भरपर्दो तथा सर्वसुलभ भाडामा सेवा प्रदान गर्न र सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ वि।स। २०१५ सालमा नै स्थापित निगमले व्यावसायिक सफलताका लागि ठुलो सम्भावना भए पनि लगानी र भएको पुँजी सम्पत्तिको समुचित प्रयोगमा कमजोरीका कारणले व्यावसायिकतामा पछि परेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार