विद्युत् महसुल नबुझाउँदा वीरगंजका १ हजार ८२३ ग्राहक कालोसूचीमा

लामो समयदेखि विद्युत् महसुल नबुझाउने १ हजार ८ सय २३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल्न कारबाही अघि बढाइएको हो । कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन गरिएको छ ।

टोलीले यकिन गरेपछि ग्राहकमाथि थप कारबाही अघि बढाइने प्रमुख दुबेले बताए । कालोसूचीमा रहेका ग्राहकबाट ७ करोड ६५ लाख ५६ हजार ७ सय ६३ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालय प्रमुख दुबेको भनाइ छ ।

लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र पर्सा-बारा करिडोरका औद्योगिक क्षेत्रका उद्योगमा विगतको भन्दा कम विद्युत्को उपयोग हुनुजस्ता कारणले आर्थिक वर्ष २०७९/८० मा विद्युत् चुहावट ०.५ प्रतिशतले बढेको छ । गत आव २०७८/७९ मा विद्युत् चुहावट ४.९८ प्रतिशत रहेकामा आव २०७९/८० मा ५.०३ प्रतिशत विद्युत् चुहावट भएको प्रमुख दुबेले जानकारी दिए ।

आव २०७९/८० मा विद्युत् महसुल नबुझाउने २ हजार ४ सय ६८ ग्राहकको विद्युत् लाइन काट्दा १ हजार ९ सय ६ ग्राहकबाट ११ करोड ४० लाख ७२ हजार ६ सय १५ रुपैयाँ बाँकी बक्यौता रकम असुली भएको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजका इन्जिनियर निर्मला फौजदारले बताइन् ।

त्यस्तै, सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ७१ जनालाई पक्राउ गरी जरिवानाबापत १२ लाख २४ हजार ७ सय २४ रुपैयाँ राजस्व संकलन भएको इन्जिनियर फौजदारले जानकारी दिइन् । आव २०७९/८० मा २ हजार ४ सय ४२ नयाँ ग्राहक थपिएको छ ।

योसँगै वीरगंज क्षेत्रमा ग्राहकको सङ्ख्या ५४ हजार २ सय ३ पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार