१९औं एसियाड : तेक्वान्दोमा नेपालको निराशा

चीनको हाङझाउमा जारी १९औं एसियाड अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दो खेलमा नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक छैन । तेक्वान्दोमा सोमबारसम्म चार खेलाडीले प्रतिस्पर्धा गर्दा कुनै पनि खेलाडी प्रिक्वार्टरफाइनलबाट अगाडि बढ्न सकेनन् ।

तेक्वान्दोको महिला ४९ केजीमुनि नेपालकी अञ्जली तामाङले सोामबार मिश्रित प्रदर्शन गरेपनि प्रिक्वार्टरफाइनलमा पराजित भइन् । हाङझाउस्थित लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको खेलमा अञ्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् ।

पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अन्जलीले दोश्रो राउन्डमा १०–४ अङ्कले खेल आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । प्रिक्वाटरफाइनलमा भने अञ्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसँग चुकिन् । अञ्जली १२–०, १०–० ले पछि परेकी थिइन् ।

यस्तै सोमबार नै भएको पुरुष ५८ केजीमुनि तौलमा नेपालका राहुल कुमाल पहिलो चरणमा साउदी अरेबियाका नासिर अहमदी रियादसँग १२–४, २–० ले पराजित भए । यसअघि तेक्वान्दोको पहिलो दिन आइतबार एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार