एसियाडका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

आइतबार बिहान काठमाडौंको एक होटलमा एक समारोहका बीच नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतका पदाधिकारीहरूले चीन जाने खेलाडीहरूलाई बिदाइ गरेका हुन् । नेपाली क्रिकेट टोली आज मध्याह्न साढे १२ बजे चाइना एअरलाइन्सको उडानमार्फत हाङ्झाव जानेछन्।

नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

यसअघि एसिया कप खेलेको टिमलाई केही परिवर्तन गरी एसियन गेम्सका लागि नयाँ टोली बनाइएको छ ।

त्यस्तै चोटका कारण ललित नारायण राजवंशीले पनि एसियन गेम्स गुमाएका छन् । उनको ठाउँमा सागर ढकाललाई पठाइने सचिव खड्काले जानकारी दिए ।

विकेटकिपर विनोद भण्डारी, अलराउण्डर विवेककुमार यादव र फास्ट बलर अविनाश बोहराले टिममा पुनरागमन गरेका छन् ।

एसियाडका लागि नेपाली टिममा विनोद र आसिफ दुई विकेटकिपर छन् । कुशल भुर्तेल, रोहित पौडेल र सन्दीप जोरा अनुभवी ब्याटर छन् भने दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र विवेक यादव अलराउण्डर छन् ।

सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा फास्ट बलर तथा सन्दीप लामिछाने स्पिनरको भूमिका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार