दुई महिनापछि आजदेखि दैनिक ६७ वटा आन्तरिक उडान हुँदै

निषेधाज्ञाको दुई महिनापछि बिहीबारदेखि आन्तरिक उडान शुरु हुँदैछ । नागरिक उडड्यन प्राधिकरणले दैनिक आठ वटा जहाजले ६४ वटा उडान गर्न अनुमति दिई उडान सञ्चालन गर्ने तयारी गरेको हो ।

प्राधिकरणले हाललाई जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्विकृत गरेको जनाएको छ । यी उडान बिहान साढे ६ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्मका लागि हुनेछन् ।

उडान भर्ने अनुमति दिइएका मध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान रहेको नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणले हवाइ कम्पनीहरुलाई निर्देशन दिएको छ ।

दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् । अहिले काठमाडौंबाट तारा एयर र समिट एयरले मात्र दुर्गममा उडान गर्दै आएका छन् । सीता एयरले दुर्गममा उडाउने भएपनि उसले क्षेत्रीय विमानस्थललाई आधार बनाएर दुर्गममा सेवा दिइरहेको छ ।

हवाई यात्रा गर्ने यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् भने मास्क अनिवार्य गरिएको छ । प्रत्येक जहाज दश मिनेटको अन्तरमा उड्नेछन् भने एक पटक उडेपछि स्यानिटाइज अनिवार्य गर्नुपर्ने र यात्रुको लगेजसमेत स्यानिटाइज गरेर मात्र दिने गरी व्यवस्था मिलाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार