६० किलो सुन तस्करीमा जोडिएका भीमकान्त भण्डारीसँग सीआइबीले लियो बयान

गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

सीआईबीले आइतबार बिहान विध ल्याबका सञ्चालक भण्डारीसँग बयान लिएको हो । सीआईबी स्रोतका अनुसार भण्डारीको चिनियाँ सुन तस्करसँग सम्पर्क देखिएकाले बयान लिइएको हो ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीको अस्वाभाविक मोबाइल सम्पर्क र सन्देश आदान प्रदान गरेको भेटिएपछि सीआईबीले आइतबार बोलाएर बयान लिएको हो ।

भण्डारीले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा पनि मुद्दा खेपिरहेका छन् । सुन तस्करी प्रकरणमा जोडिएका दावासँग उनको सम्बन्ध देखिएपछि सीआईबीले पहिलेदेखि नै निगरानीमा राखेको थियो । उनीमाथि माओवादी केन्द्रका नेताहरुसँग अस्वभाविक सम्बन्ध बनाएर अकुत सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ ।

भण्डारी जागिरे जीवनका क्रममा रहँदा तत्कालीन स्थानीय विकास मन्त्री हितराज पाण्डे ,महिला बालबालिका मन्त्री आशा कोइराला,अर्थमन्त्री कृष्णबहादुर महरा र उर्जामन्त्री बर्षमान पुनको सचिवालयमा बसेर काम गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार