प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार वार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पौने २ बजे पुगेका अध्यक्ष ओली एक घण्टापछि बाहिरिएका थिए ।

संसदमा विचाराधीन संक्रमणकालीन न्यायासम्बन्धी विधेयक र प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘समसामयिक विषयमा कुराकानी भएको हो । संसदमा रहेका विधेयक र आसन्न चीन भ्रमणबारे उहाँले जानकारी गराउनु भएको हो,’ आचार्यले भने, ‘प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग नियमित छलफल गर्दै आउनुभएको छ। आजको छलफल पनि त्यसैको निरन्तरता हो ।’

भेटघाटपछि अध्यक्ष ओली बालकोटतिर लागेका छन् भने प्रधानमन्त्री प्रचण्ड नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा भइरहेको एक कार्यक्रममा सहभागी भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार