एमाले बागमती प्रदेश कमिटीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत, पुनर्स्थापना तथा भौतिक संरचनाको पुनर्निर्माणको माग गर्दै नेकपा (एमाले) बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलसहितको टोलीले सिन्धुपाल्चोक बाढीमा परी मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति र राहत तथा विस्थापित चार हजार परिवारलाई राहत र पुनर्स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । प्रधानमन्त्री ओलीसँग नदीहरूको नियन्त्रण, खानेपानी, विद्युत्, सडक, पुललगायतका बिग्रिएका संरचनाहरूको तत्काल पुनर्निर्माण गर्न पनि एमाले बागमती प्रदेश कमिटीले ध्यानाकर्षष गराएको छ ।

ज्ञापनपत्रमा मृतकको परिवारलाई क्षतिपूर्ति दिँदै घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने, दीर्घकालीन एकीकृत पुनर्निर्माणका लागि कार्य प्रारम्भ गरिनुपर्ने, चार हजार परिवारलाई अस्थाथी बसोवासका लागि प्रतिपरिवार ८ बन्डल जस्तापाता तुरुन्त व्यवस्था गर्नुपर्ने, नदी किनारामा तटबन्ध निर्माण गर्नुपर्ने, बिग्रेका मोटरबाटो मर्मत गरी सञ्चालन गर्न योग्य बनाउनुपर्ने, अस्थाई झोलुंगेपुल बनाउनुपर्ने लगायतका माग गरिएको छ ।

असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीमा परी सो क्षेत्रका १६ जनाको निधन भएको छ भने करिब चार हजार परिवार विस्थापित भएका छन् । बाढीबाट विकासका सम्पूर्ण पूर्वाधारहरूमा समेत क्षति भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार