आफू नभएको बेला श्रीमतिसँग कोठामा देखेपछि एक युवकको हत्या, तीन जना पक्राउ

कपिलवस्तुमा एक युवकको हत्या भएको छ । कपिलवस्तु नगरपालिका ८ का विजयबहादुर कुर्मीको हत्यामा संलग्न तीन जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

१८ वर्षीय कुर्मीको शव गत असार ७ गते कपिलवस्तु ८ पूर्वडिह बेलौहवास्थित पोखरीमा फेला परेको थियो । शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले स्थानीय ३२ वर्षीय रमेश कहार, भाइ अनिल कहार र उनकी श्रीमती बासमती कहारलाई पक्राउ गरेको हो ।

घटना विवरण अनुसार असार ३ गते छिमेकीको विवाहमा गएका अनिल कहार ४ गते बिहान घर फर्किँदा कुर्मीलाई आफ्नो कोठामा देखेपछि उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

आफू नभएको समयमा कुर्मीलाई श्रीमतिसँग कोठामा भेटेपछि आक्रोशित अनिलले दाइ रमेश र श्रीमती बासमती कहारको मिलेमतोमा कुटपिट गरी हत्या गरेपछि पोखरीमा फालिदिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

कपिलवस्तु जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार कुर्मीको बासमतीसँग अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि १ महिना पहिले पनि अनिलले कुटपिट गरेका थिए ।

त्यसपछि पनि आफु नभएको मौका पारी कोठामा आएका कुर्मीलाई कुटपिट गर्नुको साथै उनैले लगाएको धागोको मालाले घाँटी कसेर हत्या गरी पोखरीमा फालिदिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

अहिले पक्राउ परेका तीन जनालाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान सुरु गरेको भण्डारीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार