शहीद स्मारक ‘सी’ डिभिजन लिग : महावीर र वीरगञ्ज विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा महावीर क्लब र वीरगञ्ज युनाइटेड विजयी भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा महावीरले सानोगौचरण युथ क्लबलाई २–० गोलले पराजित गरेको हो । अर्को खेलमा वीरगञ्ज युनाइटेडले सामाजिक युवा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

महावीरका लागि शुभम राय र अरुणराज धाँमीले एक÷एक गोल गरे । खेलको १३औँ मिनेटमा शुभम रायले पहिलो गोल गर्दै महावीरलाई अग्रता दिलाएका हुन् । यस्तै खेलको ३७औँ मिनेटमा महावीरका लागि अरुणराज धाँमीले गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । जीतसँगै महावीरले तीन खेलमा तीन अङ्क जोडेको छ । सानो गौचरण भने लागातार तेस्रो खेलमा पनि पराजित हुँदै अङ्कविहीन अवस्थामा छ ।

यस्तै आज भएको दोस्रो खेलमा वीरगञ्ज युनाइटेडका लागि विवेक चौधरीले निर्णायक गोल गरे । उनले खेलको ३५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार