स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३–२ गोलले हराउँदै रियलले जित निकालेको हो । रियल मड्रिडका लागि भिनिसियस जुयिर, लुकास भाजक्वेज र जुड बेलिङ्घमले एक–एक गोल गरेका थिए ।

यस्तै, बार्सिलोनाका एन्ड्रियास क्रिस्टेनसेन र फर्मिन लोपेजले एक–एक गोल गरेका थिए । खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा रियल मड्रिडसँग स्तब्ध बन्न पुग्यो । बार्सिलोनाका एन्ड्रियासले खेलको छैटौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर रियलका भिनिसियस १८औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ६९औँ मिनेटमा फर्मिनले गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाए । तर रियलका लुकासले ७३औँ तथा बेलङ्घिमले इन्जुरी समयमा गोल गर्दै रियललाई ३–२ गोलको जित दिलाए । यो जितसँगै रियल मड्रिड ३२ खेलबाट ८१ अंकका साथ शीर्षस्थानमा यथावत रहेको छ । पराजित भएको बार्सिलोना ७० अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार