‘वान एक्स बेट’को प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौ । अनलाइनमार्फत सट्टेबाजीसम्बन्धी  ‘वान एक्स बेट’को प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो ।

कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे ) राजु पौडेल (राजुमास्टर), पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर एलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) लाई प्रहरीले गत बिहीबार पक्राउ गरेको थियो ।

उनीहरूलाई गत बिहीबार काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ ।

अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् ।

पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले ४० लाखसम्म कमाई गरेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार