सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्न सकिन्न : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यहीन भएको भन्दै यसलाई समर्थन गर्न नसकिने बताएका छन् । शनिबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रममा बहुबर्षिय योजनालाई समेट्न नसकेको र आगामी दिशा समेत देखाउन नसकेको भन्दै यसलाई समर्थन गर्न नसकिने बताएका हुन् ।

नीति तथा कार्यक्रममा समावेश विषयहरूलाई हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो देखिएको उनले टिप्पणी गरे । उनले अहिले अर्थतन्त्र सङ्कटतर्फ गइरहेको भन्दै सुधारका केही सङ्केतहरू पनि सन्तोषजनक नरहेको बताएका छन् ।

सरकारको कार्यक्रममा सङ्कटमा परेको उद्योगधन्दालाई विकास गर्ने विषय नभएको, आत्मनिर्भरता तर्फ कुनै योजना नरहेको, मुलुकको आर्थिक नीति नै समावेश नगरिएको उनले बताए । मिठा मिठा शब्दले नीति कार्यक्रम पूर्ण नहुने भन्दै उनले समाजप्रति गम्भीर नभई कार्यक्रम आएको उल्लेख गरे ।

उनले अहिले सङ्घीयताप्रति गम्भीर प्रश्न उठेका बेला यसलाई सबलीकरण गर्ने विषय समावेश नभएको जिकिर गरेका छन् । अहिलेको अवस्थामा खर्च घटाउने भने पनि कसरी घटाउने भन्ने विषय पनि कार्यक्रममा नभएको उनको भनाइ छ । उनले नीति तथा कार्यक्रमले अहिलेको आर्थिक,सामाजिक, राजनीतिक समस्या पहिल्याउन नसकेको भन्दै यसको संसद्मा यसको विरोध गर्न सांसदहरूलाई निर्देशन दिए । उनले सरकारको कार्यक्रमलाई पास हुन दिन नहुने बताएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार