बुटवलमा रहेको ग्रामीण तथा सहरी विकास मन्त्रालय दाङ पुग्यो

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा रहेको ग्रामीण तथा सहरी विकास मन्त्रालय दाङमा पुगेको छ । प्रदेश राजधानी बनेको ९ महिनापछि मन्त्रालय स्थायी राजधानीमा पुगेको हो ।

राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालयमा गत जेठ महिनामा उक्त नवनियुक्त मन्त्री हरिप्रसाद रिजालले मन्त्रालयको स्थापना गरी त्यहीँ पदभार ग्रहण गरेका थिए । कोरोनाभाइरसको महामारी र अहिलेको लगातारको झरीले गर्दा मन्त्रालयबाट अझै काम सुरु गर्न नसकिएको स्रोत बताउँछ । कर्मचारी व्यवस्थापन, अनुगमन लगायतका कामहरु अहिले भइरहेका छन ।

लुम्बिनी प्रदेश राजधानी व्यवस्थापन कार्यालयका प्रमुख रामप्रसाद ज्ञवालीले साउन पहिलो साता र ढिलोमा दोश्रो सातासम्म दाङबाट नै ग्रामीण तथा सहरी विकास मन्त्रालयको काम सुरु हुने बताए ।

गत असोज २० गते लुम्बिनीको स्थायी राजधानीको टुंगो लागे पनि विभिन्न कारणले मन्त्रालय ढिलाई भएको बताइएको छ । राजधानी व्यवस्थापन कार्यालयले पनि प्रदेशका अधिकांश सबै मन्त्रालयहरू शिक्षालयभित्रै सहजै सञ्चालन गर्न सकिने निष्कर्षसहित सिफारिससमेत गरेको छ ।

लकडाउनका कारण निर्माण कम्पनीको काममा ढिलो भए पनि प्रिफ्याब विधिबाट विद्यालयको भौतिक संरचना निर्माण गर्न लागेको हुँदा बढीमा तीन महिनामा सबै निर्माण कार्य पूरा उनले बताए । जहाँ हाल २८ कोठे विद्यालय संरचना निर्माणको काम चलिरहेको छ ।

लुम्बिनी प्रदेशले आफ्नै स्थायी संरचना गुरुयोजना अनुरूप बनाउनका लागि अध्ययन जारी राखेको छ । नेपालकै नमूना सहरको रूपमा लुम्बिनी प्रदेशको राजधानी विकास गर्नका लागि गुरुयोजना तयार पारी काम गरिने मुख्यमन्त्री शंकर पोखरेलले बताउँदै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार