मेलम्ची बाढी : बेपत्ता भएका ७ जनाको शव भेटियो

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले ७ जनाको शव भेटिएको पुष्टि गरेका हुन् ।

डीएसपी सापकोटाका अनुसार मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । उनका अनुसार मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए । मृत्यु हुनेहरूमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु-३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु-६ का च्याङ्बा तामाङ छन् ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । यस्तै आठवटा ट्राउट माछा फर्म, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार