एकैपटक ६ हजार सैनिक शान्ति मिसनमा

काठमाडौँ – शान्ति स्थापनामा एकैपटक खटिने नेपाली सैनिकको तैनाथी संख्या पहिलोपटक ६ हजार नाघेको छ । गत महिना मध्यअफ्रिकी गणतन्त्रमा लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका दुई सय दुईजना शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिसनमा नेपाली फौजको तैनाथी संख्या ६ हजार ५९ पुगेको हो । जसमध्ये पाँच सय १३ जना महिला रहेका छन् ।

नेपाली सेना हाल १३ वटा मिसनमा खटिएको छ । जसमध्ये ११ वटा कन्टिन्जेन्ट छन् । सिरियामा फोर्स कमान्डर, लेबनानमा डेपुटी फोर्स कमान्डर तथा माली र दक्षिण सुडानमा सेक्सन कमान्डरजस्ता उच्च पदमा सैनिक अधिकृत कार्यरत छन् । मिसनमा उत्कृष्ट काम गर्दै आएकाले यसरी नेपाली सेनाको सहभागिता बढेको छ।

सन् १९५८ मा ‘मिलिटरी अब्जर्भरहरू’ लेबनान मिसनमा तैनाथ गरेसँगै सुरु भएको नेपाली सेनाको शान्ति मिसन यात्राले ६ दशकभन्दा बढी अवधि पूरा गरिसकेको छ । हालसम्म नेपाली सेनाले ४४ वटा संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागिता जनाइसकेको छ । यस क्रममा नेपाली सेनाका एक लाख ४४ हजार सात सय ८० जना मिसनमा सहभागी भइसकेका छन् ।

नेपाली सेनाले शान्ति मिसनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि सघाउँदै आएको छ । उसले बन्दोबस्तीका सामान तथा हतियार पनि सापटी दिने गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार