निषेधाज्ञामा भिडभाड रोक्न खटिएको प्रहरी टोलीमाथि ढुंगामुढा

डीएसपीसहित ७ प्रहरी घाइते

रौतहटमा निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा सोमबार राति सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको छ । झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ७ प्रहरी घाइते भएका छन् ।

गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा घेरा हालेर ढुंगामुढा गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहको भनाइ छ । सुरुमा इलाका प्रहरी गरुडाले दुई सुरक्षाकर्मी पठाएर डिजे बन्द गर्न र भिडभाड नगर्न सम्झाएको थियो । तर स्थानीयले उनीहरूलाई घेराबन्दी गरेपछि डीएसपी घिमिरेसहितको टोली पुगेको थियो । आफ्ना सुरक्षाकर्मीको उद्धार गरेर फर्कंदै गरेको टोलीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेको डीएसपी घिमिरेले बताए ।

झडपमा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय दिलीप सहनी, सुनील सहनी र राधा सहनीलाई पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको डीएसपी घिमिरेले बताए । कोरोना संक्रमणका कारण जिल्लामा जेठ २६ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार