अर्थमन्त्री प्रकरण : डिलिट भएको सीसीटीभी फुटेज रिकभर, अध्ययन गर्दै समिति

जनार्दन शर्माको कल डिटेल हेर्ने–नहेर्ने भन्ने विषयमा समितिभित्र विवाद

काठमाडौँ– बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने विषयमा छानबिन गरी रहेको संसदीय विशेष समितिले अर्थमन्त्रालयको सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टबारे अध्ययन सुरु गरेको छ ।

सिंहदरबारमा जारी समितिको बैठकमा फरेन्सिक रिपोर्टको सिल खोलिएको छ र त्यसबारे अध्ययन भइरहेको छ ।नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो ।

समितिका एक सदस्यले दिएको जानकारी अनुसार रिपोर्टमा भिडियो पनि आएको छ । अहिले सांसदहरु भिडिओ हेर्दैछन् । तर, कहिलेदेखि कहिलेसम्मको, कति के आयो भन्ने प्रष्ट छैन । १४ गतेकै छ छैन भन्ने खुलेको छैन ।

अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन । मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि फरेन्सिक जाँचका लागि प्रहरीको ल्याबमा पठाएको थियो ।

छानबिनको क्रममा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने संकेत कतैबाट नपाएपछि सीसीटीभी फुटेज नै अब निर्णायक हुने ठानिएको छ ।यता समितिका सदस्यबीच तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कल डिटेल हेर्ने–नहेर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार