लैनचौरस्थित राणाकालीन भवन केशरमहलबाट दुईवटा तरबार र बाघको टाउको चोरी भएको खुलेको छ । चोरीमा संलग्नको आरोपमा प्रहरीले त्यहाँ कार्यरत दुईजना कर्मचारीलाई पक्राउ गरेको छ भने घटनामा अन्य दुई जनाको समेत संलग्नता रहेको खुलेको छ ।
करिब १० दिन पहिले ती सामान चोरी भएकामा बधबार मात्र खुलेको थियो । महानगरीय अपराध अनुसन्धानको टोलीले चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुल्सिपुर उपमहानगरपालिका घर भई हाल काठमाडौंको बसुन्धारा बस्ने १८ वर्षका सुमन शर्मा र रुकुम पश्चिम मुसिकोट नगरपालिका घर भई हाल काठमाडौंको बेशरमहल बस्ने ३६ वर्षका विर बहादुर सुनार रहेका छन् ।
घटनामा गणेश श्रीपाली भन्ने गणेश विश्वकर्मा र दिपेन्द्र भन्ने देवेन्द्र केसीको पनि संलग्नता रहेको खुल्न आएको छ । सामानको खोजी हुन थालेपछि उनीहरूले बाथरुम छेउमा लगेर राखेको बताइएको छ ।
केशरमहल काठमाडौंमा अवस्थित एक प्राचीन कलात्मक भवन हो । केशर शमसेर राणाले निर्माण गरेको यो भवन २०२१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
उक्त भवन भूकम्पले क्षतिग्रस्त भएको हुँदा प्रबलिकरणको कार्य भइरहेको हुँदा त्यहाँ रहेका पुरातात्विक वस्तुहरु केशरमहल भित्र रहेको केशर पुस्तकालयको ठुलो कोठाभित्र सङ्कलन गरी राखिएको छ । सोही ठाउँबाट चोरी भएको प्रहरीले जनाएको छ ।