वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेपाल समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

केही दिन यता काठमाडौं लगायत देशभर वायु प्रदूषण बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै समाजवादी पार्टीले शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

बढ्दो वायु प्रदूषण र यसले बालबालिका देखि आम नागरिकमा ल्याएको स्वास्थ्य जटिलता; देशव्यापी डढेलो नियन्त्रणमा सरकारको उदासीनता देखिएको प्रदर्शनमा सहभागीहरूको भनाइ छ ।

पर्यावरणीय संकटबारे सरकारको एकदम कमजोर जवाफदेहिता र बेलैमा रोकथामको निम्ति लिनुपर्ने पहलहरूमा बेवास्ताप्रति खबरदारी गर्न प्रदर्शन गरिएको नेपाल समाजवादी पार्टीका नेतृ मानुषी यमी भट्टराईले बताए । स्वच्छ वातावरणको संवैधानिक मौलिक हक सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले नेता बस्छन् एसीमा, जनता धुलो धुवाँमा, हाम्रो जंगलमा डढेलो हेर्दा कहाली लाग्छ, यस्तो अवस्थामा सरकार तिम्लाई निन्द्रा लाग्छ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार