बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । हरेक वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल बढ्नुका साथै खेती गर्न सहज हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बसाइँसराइले गाउँ रित्तिँदै गएपछि पहिले कोदो, मकै, गहुँलगायत अन्नबाली फल्ने बारीमा अहिले सुन्तलाखेती गर्न थालिएको छ । कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने भएकाले कृषक सुन्तलाखेतीप्रति आकर्षित भएका केन्द्रका सूचना अधिकारी कुमार पुनले बताए।

कृषि ज्ञान केन्द्रका अनुसार विसं २०७६ मा पाँच सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा हालसम्म आउँदा उक्त क्षेत्रफल बढेर छ सय १८ हेक्टर पुगेको छ । चार वर्षको अवधिमा ३३ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती बिस्तार भएको छ ।

बागलुङमा सुन्तला उत्पादन राम्रो हुने र बजार पनि सहजरुपमा पाउने भएकाले खेती बिस्तार हुँदै गएको पुनको भनाइ छ । जिल्लामा काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुने उनले जानकारी दिए।

भौगोलिक बनावट र हावापानीअनुसार १० वटै पालिकामा धेरै वा थोरै सुन्तला उत्पादन हुने गरेको सूचना अधिकारी पुनले बताए। अघिल्लो वर्षको तुलनामा यस वर्ष ४५ मेट्रिकटन सुन्तला उत्पादन कम भएको उनले जानकारी दिए।

सूचना अधिकारी पुनका अनुसार अघिल्लो वर्ष जिल्लामा तीन हजार नौ ८५ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन हजार नौ ४० मेट्रिकटन मात्रै उत्पादन भएको छ । गत वर्ष रु २० करोड बढीको सुन्तला बिक्री भएकामा यस वर्ष रु १८ करोडको मात्रै उत्पादन भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार