नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि चैत ३० गते सुनको मूल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । चैत ३० गते तेजावी सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय १५ रुपैयाँ कायम रहेको थियो ।