आयआर्जनको माध्यम बन्दै मह सिकार

म्याग्दी– देशका भीर-पहरामा गरिने मह सिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मह सिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताए । ‘अक्करे भीरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण बनेको छ’, उनले भने, ‘अत्यधिक माग हुने भीरमह बिक्री गरेर सिकारीहरूले केही रकम आर्जन पनि गरेका छन् ।’

केही दिनअघि मङ्गला गाउँपालिका–१ थाइवाङको भिरमा तीन सय लिटर मह निकालेका धवलागिरि गाउँपालिका–२ खोरियाका मोतिप्रसाद पाइजाको १० जनाको टोलीले मङ्गलबार खोरियाको महभिरमा ३० लिटर मह जम्मा गरेको छ । स्वाँतमा लोकबहादुर पाइजाको टोलीले ७० लिटर मह निकालेको जनाएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले महसिकार गरेर गाउँका बेरोजगारलाई रोजगारी र आयआर्जनको अवसर मिलेको बताए । एउटा मह सिकार टोलीमा कम्तीमा १० जना सहभागी हुन्छन् ।

म्याग्दीका महसिकारीलाई कास्की, बागलुङबाट पनि ज्याला दिएर बोलाउने गरेका छन् । भीरमा मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरीमा झुण्डिएर मह निकालिने खोरियाको मह सिकारी टोलीका सदस्य सबहादुर चोचाङ्गी पुनले बताए । वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भीरमह निकाल्न उपयुक्त समय हो । म्याग्दीमा प्रतिलिटर दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयका दरले भीरमह बिक्री हुने गर्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिप्रवर्द्धक हुनुका साथै धार्मिक कार्यका लागि प्रयोग हुने मह भिरबाट ननिकाल्दै अग्रिम पैसा दिएर ग्राहकले खरिद गर्ने गरेको अन्नपूर्ण–५ स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार