बजेटबारे पत्रकार सम्मेलन गर्दै काँग्रेसले भन्यो- भ्रमको खेती गरी जनमत प्रभावित गर्ने काम

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बजेट वक्तव्यमा भनिए जस्तो अर्थतन्त्रको विस्तार ६.५ प्रतिशत हुने कुनै आधार नभएको जनाएको छ ।

बजेटका विषयमा सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै काँग्रेसले बजेटले दीर्घकालीन दायित्व सिर्जना गरेको र अतिरिक्त, ऋणभार सिर्जना गरेको भन्दै अर्थतन्त्रको विस्तार पनि ६.५ प्रतिशत हुने सम्भव नदेखिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा काँग्रेस नेता मीनेन्द्र रिजालले जनताको आँखामा छारो हाली शासन गर्न सकिन्छ भन्ने सरकारी मनोकाङ्क्षाबाट सरकार ग्रसित छ भन्ने ठोस प्रमाण बजेट वक्तव्यले प्रस्तुत गरेको बताए । उनले खोप लगाउने, कोभिड सङ्क्रमण फैलिन नदिने, सङ्क्रमितलाई उपचार गरेर जोगाउने सरकारी जिम्मेवारी बजेट किताबमा रकम छुट्टाएर मात्र पुरा नहुने धारणा राखे ।

नेता रिजालले बजेटमा समावेश गरिएको योजना कार्यान्वयन गर्ने क्षमता नरहेको र भ्रमको खेती गरी जनमत प्रभावित गर्ने भन्ने सरकारी दुराशय बजेट वक्तव्यमा प्रस्ट रहेको जिकिर गरे । उनले बजेटले जनतामा कुनै आशा जागृत गर्न नसक्ने पनि टिप्पणी गरे ।

त्यस्तै रिजालले प्रधानमन्त्री, अर्थमन्त्री र पहुँचवाला सरकारी नेताहरूको निर्वाचन क्षेत्रमा अन्यायपूर्ण अत्याधिकरुपमा बजेट विनियोजन भएको सुन्दा आहतमा परेका नागरिकको विवेकमा अपमान भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार