सुदूरपश्चिमका ३ मन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले ३ जना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरुलाई प्रदेश कमिटीले २४ घण्टे  स्पष्टीकरण सोधेको हो ।

सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई छुट्टाछुट्टै पत्र पठाउँदै  स्पष्टीकरण सोधिएको एमाले सुदूरपश्चिमले जनाएको छ।

सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले स्पष्टीकरण सोधेका हुन् ।

यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरुलाई निर्देशन दिएको थियो ।

केन्द्रको स्थायी समितिको निर्णयलाई चुनौती दिँदै प्रदेशको संसदीय दलको बैठकले समर्थन फिर्ता नलिने निर्णय गरेको हो।

सुदूरपश्चिम एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत छ भने अहिले स्पष्टीकरण सोधिएका तीनै जना मन्त्री माधव नेपाल पक्षीय हुन्। संसदीय दलको निर्णयलाई ओली पक्षका प्रदेश सभा सदस्यहरुले भने नमान्ने बताइसकेका छन्।

सुदूरपश्चिम प्रदेश सभामा सभामुख सहित एमालेका २५ जना सदस्य छन्। उनीहरुमध्ये वरिष्ठ नेता माधव नेपाल पक्षका १८ र ओली पक्षका ६ जना छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार