थप आकर्षक सुविधाहरुसहित एनसेलको नयाँ वेबसाइट लन्च

एनसेल आजियाटा लिमिटेडले थप सेवा सुविधा सहित नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ ।

एनसेल प्रयोगकर्ताहरुले अब वेबसाइटबाटै भ्वाइस तथा डेटा प्याक खरिद, अनलाइन रिचार्जलगायतका सेवा लिन सक्ने भएका छन् । नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिने एनसेलले जनाएको छ ।

ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लैजाने उद्देश्य अनुरुप सञ्चालनमा ल्याइएको वेबसाइट एनसेलको डिजिटल अभियान अन्तर्गतको कार्य भएको बताइएको छ । यसै अभियान अन्तर्गत एनसेलले विविध सेवा सुविधासहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण सञ्चालन यसअघि नै ल्याइसकेको छ ।

नयाँ वेबसाइटबाट प्याक खरिद गर्ने प्रयोगकर्ताका लागि प्याकको खरिदमा १०० प्रतिशतसम्म थप भोल्युमसहितका आकर्षक अफरहरु दिने एनसेलले जनाएको छ । कोरोना महामारीकाबीच एनसेल प्रयोगकर्ताहरुले घरबाटै आवश्यकता अनुसारको सेवाहरु वेबसाइटमार्फत खरिद गर्न सक्ने बताइएको छ ।

विशेष अफरअन्तर्गत उपभोक्ताहरुले वेबसाइटबाट प्याकको खरिदमा एक सय ५० एमबीदेखि दुई जीबीसम्म बोनस डेटा पाउने छन् ।

एनसेलले एक दिनको प्याक (१८ रुपैयाँ), सात दिनको प्याक (९८ रुपैयाँ), १४ दिनको प्याक (एक सय ३९ रुपैयाँ) र ट्रिपल मजा अन्तर्गत सात दिनको प्याक (एक सय ९ रुपैयाँ), १० दिनको प्याक (एक सय ४७ रुपैयाँ) र ३० दिनको प्याक (चार सय ५९ रुपैयाँ) मा थप ०.५ जीबीदेखि ०.७५ जीबीसम्म बोनस डेटा दिने जनाएको छ ।

त्यसैगरी, प्रयोगकर्ताहरुले केही प्याकमा डबल डेटा पाउने र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढी ‘डे डेटा’ पाउने जनाएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण घरमै बस्नुपर्ने परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र प्रियजनहरुसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकै आवश्यक हुने भएकाले एनसेलले नयाँ वेबसाइटमा रहेका सुविधा र अफरहरुले ठूलो महत्व राख्ने विश्वास लिएको छ ।

एनसेलले छिट्टै नेपाली संस्करणको नयाँ वेबसाइट सार्वजनिक गर्ने तयारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार