सडक दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा नजिक आज फलाम बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो हेटौँडाबाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि एच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा ट्रक चालक भारत पटना जिल्ला महाबलिपुर बस्ने ४० वर्षीय सुरेन्द्र यादव रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार उक्त ट्रक स्थानीयवासीको घरमा ठक्कर दिएर २०० मिटर तल खस्दा चालक सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको हो ।

सुरेन्द्रको शव गाडीको स्टेयरिङमा अड्केर रहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । उनको शव परीक्षणका लागि हेटौँडा ल्याउँदै गरेको उनले बताए । ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ वर्षीय अजित यादव भने हामफालेर बाँच्न सफल भएका छन् । अजित सामान्य घाइते छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार