लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यमन्त्री वलीले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

यसअघि आज दिउँसो बसेको लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशनको १९ औं बैठकको सुरुमै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली घटनाको विषयमा सरकारको धारणा मागेका थिए ।

जेठ ३१ गते वली प्रेमी भनिएका दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिटमा संलग्न भएपछि विवादमा तानिएकी थिइन् ।घटनाको छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।

छानबिन समितिको प्रतिवेदन आउनुअघि नै उनलाई राजीनामा दिन लगाइएको हो । पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार