इम्बोस्ड नम्बर प्लेट : के हो र कसरी जडान गर्ने ?

यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । विभागले एक सूचना जारी गर्दै यी दुई प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलसहित सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर अनिवार्य नगरिए कारबाही हुने चेतावनी दिएको छ ।

सरकारले बागमती र गण्डकीका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न गत २२ कात्तिकमा राजपत्रमा सूचना प्रकाशन गरेको थियो ।

सरकारले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेपछि अहिले यसबारे चर्चा सुरु भएको छ ।

के हो इम्बोस्ड ?

सरकारले इम्बोस्ड प्लेट जोड्न दुईपांग्रेको हकमा २५ सय, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९ रुपैयाँ र कार, जिप, भ्यान र ट्रयाक्टरलगायत चारपांग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकेको छ ।  ठूला सवारीले इम्बोस्ड प्लट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

सरकारले राष्ट्रपतिको सवारीसाधनलाई निशान छापसहितको नम्बर दिएको छ । सरकारी र संस्थानलाई सेतो प्लेटमा रातो नम्बर छ भने कूटनीतिकको हकमा सेतो प्लेटमा नीलो नम्बर छ । निजी सेतो प्लेट र भाडाका सवारीसाधनलाई पहेंलो प्लेटमा कालो नम्बर राख्ने व्यवस्था गरिएको छ ।

यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । धातुको प्लेटमा लेखिएका अक्षरहरू बाहिर देखिने गरी उठेका हुन्छन् । यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन नसक्ने दावी गरिएको छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ ।

इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा विभागले विद्युतीय स्टिकर टाँस्छ । त्यो स्टिकरमा सवारीका विस्तृत विवरणहरु राखिन्छन् । यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चिप्सभित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ ।

यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिनसहितको गेट राख्ने योजना पनि छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेमा छन् भन्ने थाहा पाउन समय लाग्दैन ।

नम्बर प्लेट जोड्ने प्रकृया

यातायात व्यवस्था विभागको अनुसार इम्बोस्ड नम्बरप्लेट आवेदन दिनुपूर्व सवारीको सम्पूर्ण राजस्व चुक्ता भएको हुनु पर्नेछ। राजश्व चुक्ता छ भने विभागको वेव साइट https://dotm.gov.np/ मा गई प्रथम पृष्ठमा रहेको ‘इम्बोस्ड नम्बर प्लेट प्रणाली’ बटन थिची सवारीको सम्पूर्ण विवरण भरी अनलाइन आवेदन फाराम बुझाई आफूले बुझाएको फाराम प्रिन्ट गर्नु पर्नेछ।

त्यसपछि साउन १ गतेदेखि दुई पाङ्ग्रे सवारीको लागि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारामा रहेको ग्लोबल आई एमई बैंकको शाखा अन्य सवारीको हकमा यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी) एकान्तकुना, ललितपुरमा इम्बोस्ड नम्बर प्लेट शुल्क वापतको राजस्व जम्मा गर्नु पर्नेछ।

सवारीको कर चुक्ता सम्बन्धी अध्यावधिक कागजात, नम्बर प्लेट वापतको शुल्क जम्मा गरेको बैंक भौचरको सक्कल प्रति र अनलाइन आवेदन प्रणालीमा उल्लेख गरिएका आवश्यक कागजात सहित अनलाइन आवेदनको प्रिन्ट यातायात कार्यालयमा प्रमाणीकरणका लागि बुझाउनु पर्नेछ।

इम्बोस्ड नम्बर प्लेटका लागि दिइएको आवेदन सम्बन्धित कार्यालय मार्फत प्रमाणीकरण भए पश्चात मात्र इम्बोस्ड प्लेट छाप्ने प्रकृया शुरु हुनेछ र प्लेट तयार भएको जानकारी सम्बन्धित आवेदकलाई एसएमएस मार्फत गराइने विभागले जनाएको छ।

इम्बोस्ड प्लेट जडान गर्न आफूलाई उपयुक्त हुने मिति आवेदकले एसएमएस मार्फत नै रोज्न सक्नेछन्।

प्रणालीबाट निर्धारित भई एसएमएसमार्फत आवेदकलाई जानकारी गराइएअनुसारको मितिमा निजी सवारीको हकमा सवारी धनि स्वयं उपस्थित भई आफ्नो बायोम्याट्रिक विवरण उपलब्ध गराई तथा सरकारी वा संस्थानको स्वामित्वमा रहेका सवारीको हकमा आधिकारिक प्रतिनिधि उपस्थित भई देहायका स्थानबाट सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिनेछ।

कस्तो छ यो प्लेट?

९९ प्रतिशत आल्मोनियमबाट बनेको यो नम्बर प्लेटमा रेट्रो रिफ्लेक्टिभ सिट लेमिनेट गरिएको र उक्त प्लेट अन्तर्राष्ट्रियस्तरको हुने बताइएको छ। यसको कडा पन एच ४१ र एच ४२ हनेछ भने मोटाई ०.९८ मिलिमिटर हुनेछ। बेस प्लेटमा स्ट्याम्पिङद्वारा उठेको अंक र अक्षर पोजेटिभ इम्बोस्ड रहेको हुनेछ।

प्लेटको बाँया साइडको माथि नेपालको झण्डा र त्यसैको मुनी देश जनाउने गरी अंग्रेजीमा एनइपी र त्यसको मुनी सुरक्षात्मक होलोग्राम राखिएको हुनेछ। प्लेटको माथि प्रदेश जनाउने अंग्रेजीमा लेखिएको हुनेछ। त्यसको मुनी लट जनाउने गरी अंग्रेजी अल्फाबेट राखिएको र सो को मुनी बढीमा ४ अंक लेखिएको हुनेछ।

दुईपांग्रे बाहेकका सबै साधनहरुमा अगाडि वाइड स्क्रिन ग्लासको भित्रपट्टीबाट आरएफआइडी एण्टीना स्टिकर राखिएको छ। मोटरसाइकलको हकमा पछाडीपट्टीको नम्बर प्लेटमा विषेश प्रकारको कभरको डिजाइन गरी चिप्स राखिएको हुन्छ र सो मा आरएफआइडी स्टिकरको सम्पूर्ण विवरण राखिएको हुन्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार