बाँदरमुढे घटनाको १७ वर्ष : न्यायको लडाइँ अझै टुंगिएन

पीडित कराइरहने, राज्यले झुक्याइरहने

चितवन : सशस्त्र द्वन्द्वकालमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको १७ वर्ष पूरा भएको छ। घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपूरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ ।

माडीको बगईबाट १५० यात्रु बोकेर नारायणगढ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबाहक बस दुर्घटना तत्कालीन नेकपा माओवादीले थापेको एम्बुसमा पर्दा ३८ जनाको मृत्यु भएको थियो। घटनामा ७२ घाइते भएका थिए।

घटनामा माडी नगरपालिकाका कृष्ण अधिकारी अहिलेसम्म पनि राज्यबाट परिपूरणको व्यवस्था नहुनु दुःखद् भएको बताउँछिन्। ‘घाइते हामी धेरै छौँ। २२ जनाले मात्र राहत पाएका छन्। अरुले पाएका छैनन्’, उनले भनिन्, ‘सरकारले बाँदरमुढे पीडित भनेर रातो किताबमा नाम निकालेकाले मात्रै राहत पाएका छन्।’

यो नाम पनि शक्तिको आधारमा राखिएको उनले बताइन्। राहतमा नाम नपरेकाका लागि पुनः मूल्याङ्कन गरी राहतको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

घटनामा परेका सुदीप न्यूरेले पीडित कराइरहने राज्यले झुक्याइरहने काम मात्र भइरहेको बताउँछन्। माओवादी केन्द्रका जिल्ला नेताले यो घटनालाई सामान्य रूपमा लिएकाले अहिले सम्म समस्या जस्ताको तस्तै रहेको उनको भनाइ छ। ‘यो घटनाबारे जिल्ला नेताहरूले कुरा उठाउनै चाहँदैनन्’, उनले भने, ‘हाम्रो समस्या समाधानमा स्थानीय नेताहरू बाधक बनेका छन्।’

बाँदरमुढे पीडित सङ्घर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने अहिले पनि घटनास्थलमा पुग्दा शरीर काप्ने गरेको बताउँछन्। घटनामा श्रीमती गुमाएका उनी राज्यले नागरिकप्रति दायित्व पूरा गर्न नसकेको बताउँछन्। ‘माओवादीका अध्यक्ष पुष्पकमल दाहाल दुई पटक प्रधानमन्त्री हुँदा पनि हाम्रो माग सम्बोधन नहुनु दुःखद् छ’, उनले भने, ‘घाइतेको उपचार र परिपूरणको व्यवस्था गर्नु राज्यको दायित्व हो।’

नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले पार्टीको पहलमा पीडितलाई न्याय र परिपुरणका क्षेत्रमा धेरै काम भएको दाबी गरे। पीडितको मागलाई मध्यनजर गरी स्वास्थ्योपचार, शिक्षा, रोजगारलगायतमा प्रथामिकतामा राखेर काम भइरहेको उनको भनाइ छ। ‘यो द्वन्द्वकालीन घटना हो’, उनले भने, ‘काम नभएको होइन। यसलाई देखाएर धेरै प्रचारबाजी भयो।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार