रुपन्देहीमा चालक निदाएकाले बस दुर्घटना !

रुपन्देहीको भैरहवा-परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ८ जना पुरुष र १ जना महिला रहेको रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले जानकारी दिए ।

आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो । ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिंग तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । उनले प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरी अस्पताल पुर्‍याउने काम भएको बताए ।भैरहवा-परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यस अघि पनि पटक–पटक गाडीहरू खोलामा खस्ने गरेका छन् । बिहानको समयमा चालक निदाएको हुन सक्ने कारणले बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार