फेरी बढ्यो कच्चा तेलको मूल्य

युरोपेली युनियनका नेताहरुले २०२२ को अन्त्यसम्म ९० प्रतिशतले रुसी कच्चा तेल माथि प्रतिबन्ध लगाउनेसम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर गरेपछि तेलको मूल्य बढेको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ अमेरिकी डलर पुगेको छ । गत मंगलबार प्रतिब्यारेल ११० डलर आसपास रहेको ब्रेन्ट कच्चा तेल एक सातामै १४ डलर बढेको छ ।

रेफिनिटिभ डेटाका अनुसार अमेरिकी कच्चा तेलको मूल्य बढेर ११९.४२ डलर पुगेको र यो १२ साताको उच्चतम विन्दुमा पुगेको छ। त्यसैगरी अगस्टका लागि भएको कच्चा तेलको व्यापार पनि उच्च विन्दुमा भएको बताइएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तेल उत्पादक मुलुकहरुको संगठन ओपेकले तेल उत्पादनमा हालको मात्रालाई नै यथावत राख्न सक्ने भएकाले मूल्यमा दवाव परेको हो ।

युरोपियन परिषद्का अध्यक्ष चार्ल्स मिचेलले इयुका नेताहरुको सम्झौताले तत्कालै रुसी तेलको आयातमा ७५ प्रतिशत धक्का पुग्ने बताएका छन्  ।
युक्रेन माथि थालेको आक्रमण पछि इयुको पछिल्लो पछिल्लो कदम रुस माथि लगाएको छैटौं प्रकारको प्रतिबन्ध हो। मे महिनाको सुरुवातदेखिनै इयु रुसको कच्चा तेल खरिद माथि प्रतिबन्ध लगाउने विषयमा छलफल गर्दै आएको छ  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार