बुबासँग उत्सवकाे त्यो अन्तिम टेलिफोन संवाद

चौरजहारीका पहिलो र एक मात्र पाइलट थिए उत्सव

दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ । अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।

जहाजमा चालक दलका तीन र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ नेपाली, चार भारतीय र दुई जर्मनी नागरिक थिए । जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

यो खबरले रूकुम पश्चिमको चौरजहारी नगरपालिका–३ लापुते गाउँ यतिबेला शोकमा डुबेको छ। तारा एयरको जहाज दुर्घटनामा परेका २५ वर्षीय पाइलट उत्सव पोखरेलको निधनले चौरजहारी सहित सम्पूर्ण जिल्ला नै शोकमा परेको छ । उत्सव रूकुम पश्चिमको चौरजहारीका पहिलो र एक मात्र पाइलट हुन् ।

उत्सवले फिलिपिन्सबाट पाइलट कोर्स गरेका थिए । १० कक्षासम्म चौरजहारी अध्ययन गरेका उनले प्लस टु काठमाडौंको भिएस निकेतनबाट गरेका थिए । प्लस टु सकिएसँगै उनी पाइलट बन्ने सपनासहित फिलिपिन्स पुगेका थिए । कोर्स पूरा गरेर उत्सव एक वर्षअघि स्वदेश फर्किएर तारा एयरको फर्स्ट अफिसर पाइलटका रूपमा काम सुरू गरेका थिए । उत्सवले उडान गर्न थालेपछि उनका दाइ उमेश पनि पाइलट कोर्स गरिरहेका छन् ।

बुवा मनिराम पोखरेल जाजरकोटको नलगाड नगरपालिकामा शिक्षा स्रोत व्यक्तिको रूपमा कार्यरत छन् भने आमा उषाले दाङ तुलसीपुरको बिजौरीस्थित एक विद्यालयमा पढाउँछिन् । छोराहरूको सजिलोको लागि उनीहरूले दाङको बिजौरीमै घर बनाइरहेका थिए। उनीहरूको एउटा घर नेपालगञ्जको गणेशपुरमा पनि छ।

उत्सवले तारा एयरमा तालिकाअनुसार उडान भर्थे । नेपालगञ्ज–हुम्ला, नेपालगञ्ज –डोल्पा, नेपालगञ्ज–रुकुम पश्चिम, नेपालगञ्ज–काठमाडौं, पोखरा–नेपालगञ्ज, नेपालगञ्ज–जोमसोम सबैतिर उनले उडान भर्थे । पाइलट उत्सव भक्तपुरको

लोकन्थलीमा डेरा गरी बस्दै आएका थिए । बुधबारदेखि आइतबारसम्म उत्सवले प्लेन उडाउनु पर्थ्यो । पोखरा जोमसोम उठान गर्ने दिन उत्सवले बिहानै बुवासँग कुरा गरेका थिए । उनले बुवा मनिरामलाई पोखरादेखि जोमसोम उड्दैछु भनेर जानकारी गराएका थिए । बुवाले उनलाई ‘शुभ यात्रा बाबु’ भन्दै  आर्शिबाद दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार