निर्वाचनमा विपक्षीलाई सघाएको भन्दै एमालेले गर्यो १८ जनामाथि कारबाही

नेकपा एमालेले स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारविरुद्ध भ्रम सिर्जना गरी विपक्षी पार्टीलाई सघाएको आरोपमा १८ जनालाई कारबाही गरेको छ ।

१८ जनामध्ये केहीलाई स्पष्टीकरण सोधिएको छ । केहीलाई निलम्बन गरिएको र केहीलाई पार्टीको साधरण सदस्य नरहने गरी कारबाही गरिएको एमाले जिल्ला कमिटी बर्दियाले जनाएको छ ।

उम्मेदवारविरुद्ध भ्रम सिर्जना गरी मतदातालाई दिग्भ्रमित गर्दै पार्टी निर्णयविपरीत बारबर्दिया र गुलरिया नगरपालिकाका एमाले नेता–कार्यकर्ता कारबाहीमा परेका हुन् । गुलरिया नगरका सहइन्चार्ज राम बहादुर रावललाई पार्टीको साधरण सदस्य नरहने गरी निस्कासन गरिएको एमालेले जनाएको छ । उनी २०७४ को स्थानीय निर्वाचनमा गुलरिया-४ बाट वडाध्यक्ष भएका थिए ।

यसैगरी नगर इन्चार्ज धनेश कुमार यादवलाई सचिवालय सदस्य र नगर इन्चार्जबाट मुक्त गरिनुका साथै जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ ।

यस्तै नगर उपसभापति पुष्पा वली, जिल्ला कमिटी सदस्य हिरा बहादुर बिसी, जीवन पन्थी, पुनकला श्रीवास्तवलाई विभागीय जिम्मेवारीबाट निस्कासन गरिएको एमालेले जनाएको छ ।

जिल्ला कमिटीका सल्लाहकार शंकर घिमिरे लगायतलाई पदबाट मुक्त गरी स्पष्टीकरण सोध्ने निर्णय गरिएको पनि बताइएको छ । निलम्बित नगर इन्चार्ज यादवले भने झुठो आरोप लगाइ कारबाही गरिएका साथीहरुलाई एक पटक सोधपुछ नगरी कारबाही गरिएकोमा आपत्ति जनाउँदै त्यसविरुद्ध सशक्त विरोध गर्ने बताएका छन् ।

बिना प्रमाण कारबाही गर्नु न्यायोचित नभएको र पार्टीको विधान विपरीत भएकोले यसको उच्चस्तरीय छानबिन हुनुपर्ने उनको भनाइ छ । पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवालीले कारबाही प्रक्रिया ठीक भएको भन्दै यो निर्णयबारे जिल्ला कार्यसमितिको बैठकले छलफल गरी अनुमोदन गर्ने जनाए ।

स्थानीय तह निर्वाचनका क्रममा गुलरिया, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा एमाले पराजित भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार