निषेधाज्ञामा पनि रातो मच्छिन्द्रनाथको रथयात्रा निर्माणको काम जारी

प्रत्येक बर्ष मनाइने बर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा निर्माणको काम निषेधाज्ञामा पनि भइरहेको छ । रातो मच्छिन्द्रनाथको रथको खट निर्माण लगायतका कामहरु भइरहेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरकै अनुमतिमा पुल्चोकको सडकमा रथ निर्माणको काम भएको हो ।

स्वास्थ्य सावधानी अपनाएर रथ निर्माणका लागि अनुमती दिइएको प्रशासनको भनाइ छ । स्थानीयको माग र संस्कृतिसमेत जोडिएको विषय भएकाले रथ निर्माण र परम्परा धान्नका लागि अनुमति दिइएको प्रशासनको भनाई छ । रथ निर्माणमा लागेका स्थानीय सुर्यमान ढंगोलले १५ दिन भित्र रथ तयार हुने बताए । पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा मनाइने रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरु हुने उनले जानकारी दिए ।

रथ विभिन्न किसिमका काठ तथा बेतको सहायताले बनाउने गरिन्छ । काठकै चुकुल राखी बेतको डोरीले बाँधेर रथ निर्माण गर्ने परम्परा छ । पाटनको तःबहालबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी सांस्कृतिक बाजागाजाका साथ जात्रा गर्दै पुल्चोकमा निर्मित ३२ हात अग्लो रथमा आरोहण गराइने चलन छ ।

मच्छिन्द्रनाथको मूर्ति रथारोहण गरिएको चौथो दिन रथयात्रा गर्ने परम्परा छ । आमाको मुख हेर्ने दिनको भोलिपल्ट रथारोहण गरिएको रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानेर पाटनका बिभिन्न स्थानमा पुराइने गरिन्छ । किंवदन्तीअनुसार बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत भारतको कामरूप कामाख्या गई ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएका थिए ।

आफ्ना गुरु मच्छिन्द्रनाथ देखेपश्चात् गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नव नाग मुक्त भई वर्षा भएको र सहकाल लागेको विश्वास छ । यही किंवदन्तीका आधारमा हालसम्म पनि मच्छिन्द्रनाथको मूर्तिलाई रथयात्रा गर्ने परम्परा छ ।

Loading...