किन गरियो पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस ?

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग-एन-(पीएमएलएन)ले मंगलबार राष्ट्रिय सभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो ।

अहिले सदन नचलेकाले संविधानको धारा ५४ अनुसार अविश्वास प्रस्ताव पेस भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । धारा ५४ अनुसार राष्ट्रिय सभाका २५ प्रतिशत सदस्यले हस्ताक्षर गरी बैठक आह्वानको माग गर्न सक्नेछन् । उनीहरूले माग गरेको १४ दिनभित्रमा सभामुखले बैठक आह्वान गर्नुपर्ने छ ।

विपक्षी गठबन्धनको अर्को घटक पाकिस्तान पिपुल्स पार्टीका प्रवक्ता नवीद कमारले १४० जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेस गरिएको बताएका छन् । पाकिस्तानको संविधानअनुसार प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुनका लागि सामान्य बहुमत भए पुग्छ । ३४२ सदस्य रहेको राष्ट्रिय सभामा अविश्वास प्रस्ताव पारित हुनका लागि १७२ भोट आवश्यक पर्छ ।

विपक्षी गठबन्धनले १७२ भोट जुटाएमा इमरान खान सत्ताबाट बाहिरिनेछन् । खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ(पीटीआई) सँग राष्ट्रिय सभामा १५५ सिट मात्रै छ । उनले केही साना दलसँग मिलेर सरकार बनाएका हुन् ।

खानलाई समर्थन गर्ने अधिकांश पार्टी सेनाको नजिक रहेका छन् । खान सरकारलाई सघाउने प्रमुख पार्टीहरू पाकिस्तान मुस्लिम लिग कायद-ए-आजम र मुत्ताहिदा कौमी मुभमेन्ट हु्न् । उनीहरूले पनि खान सरकारले आफूहरूलाई पर्याप्त रूपमा सहभागी नगराइएको आरोप लगाएका छन् । सरकारका सहयोगी दलले विपक्षी दललाई सघाए मात्रै खानविरुद्ध अविश्वास प्रस्ताव पारित हुन्छ ।

गत वर्ष मार्चमा खानले विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १७८ भोट पाएका थिए । प्रधानमन्त्री खानले सरकार नढल्ने बरु अझ बलियो हुने प्रतिक्रिया दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार