रूस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमवार हुने

काठमाडौं । रूस र युक्रेनबीचको तेस्रो चरणको शान्ति वार्ता सोमवार हुने भएको छ। यसअघि पनि दुई देशबीच वार्ता भएको थियो। रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिले त्यहाँको अवस्था चिन्ताजनक छ ।वार्ता युक्रेन र बेलारूसको सीमामा भएको थियो। तर‚ यस पटक वार्ता कहाँ हुने भन्ने खुलाइएको छैन। यसअघि भएका दुई वटा वार्ता विना निष्कर्ष सकिएका थिए ।

रूसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष निस्किएको छैन। तेस्रो चरणको वार्ता सोमवार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले जानकारी दिएका छन्। उनले आफ्नो फेसबुक स्टाटसमा युक्रेन र रूसबीच अर्को अर्थात् तेस्रो चरणको वार्ता सोमवार हुने जनाएका छन्।

युक्रेनका अधिकारीहरूले यसअघिका दुई चरणको वार्तामा कुनै सफलता प्राप्त नभएकाले यसपटक पनि ठूलो नतिजा निस्किने अपेक्षा नगरिएको बताएका छन्। दुई दिनअघि भएको दोस्रो चरणको वार्ता सकिएपछि वार्तामा सहभागी दुवै देशका अधिकारीहरू आ(आफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी यो तेस्रो चरणको वार्ता गर्ने बताएका छन्।

रूस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो। सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए। रूस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने गत शुक्रवार बताइएको थियो। उता रूसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ।

रूसले युक्रेनको आवासीय क्षेत्रहरूमा गोलाबारी गरिरहेको आरोप लगाइएको छ। युक्रेनी राजधानी किभमा भने खतराको साइरनहरु निरन्तर बजिरहेको छ। रूसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ। ती स्थानहरुमा युक्रेनी फौजको प्रतिवाद भने जारी छ। जसका कारण रूसी सेना अगाडि बढ्ने गति कम भएको छ। यसैले पनि रूस वार्ताका लागि तयार भएको विभिन्न विश्व समुदायले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार