जसले युक्रेनमाथि आक्रमणको योजना बुने

रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको आज शुक्रबार नवौँ दिन हो । यसबीचमा रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारैतीरबाट घेरिसकेका छन् भने दक्षिण सहर खेरसन कब्जामा लिइसकेका छन् ।

रुसी हमलाको त्रासले गर्दा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ।  रुसी रक्षा मन्त्रालयले हमलामा आफ्ना ४९८ सेना मारिएको जनाएको छ ।

रुसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहती भएको युक्रेनले जनाएको छ । तथ्यांक अनुसार रुसी सेनाको आक्रमणमा ३५२ सर्वसाधारण मारिएका छन् ।

तत्काल यो युद्ध बुझ्नको लागि रुसले डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दिएपछिको परिणाम हो । तर, यसको पछाडि धेरै कारणहरु रहेका छन् । युक्रेनमा अमेरिका तथा युरोपेली देशको प्रभाव बढ्नू, नेटो तथा ईयूको सदस्यता माग गर्नू, रुसविरुद्ध जनमत बढ्नू, रुसलाई पश्चिमाबाट असुरक्षाको महसुस हुनू । यी युद्धका कारण हुन् भन्नेमा कुनै दुईमत छैन ।

युद्धको कारण रुसको अर्थतन्त्र अस्तव्यस्त हुन थालिसकेको छ । यसले दिर्घकालिन असर पुर्याउने नैछ । यसबीचमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण जस्तो महत्त्वपूर्ण निर्णय गर्न कसको सहयोग लिए भन्ने कुरा निकै जिज्ञाशाजनक हुनेछ ।

रुसको अधिकांश आन्तरिक तथा परराष्ट्रनीतिका महत्त्वपूर्ण निर्णयहरू प्रायः सुरक्षा परिषद्को बैठकमा हुने गर्छ। उक्त परिषद्‌मा शीर्ष ‘सिलोभिकी धेरै सुरक्षा र कानुन बनाउने निकायहरू छन् जसअन्तर्गत एफएसबी र परराष्ट्र गुप्तचर निकायका प्रमुखहरू, आन्तरिक, परराष्ट्र तथा रक्षामन्त्रीहरू, साथै प्रधानमन्त्री र संसद्का दुवै सदनका सभामुख पर्छन्। रुसी सुरक्षा परिषद्‌मा कुल ३० सदस्य छन्।

रुसी सेनाको सर्वोच्च नेतृत्वकर्ताको हैसियतले आक्रमणको निर्णायक जिम्मेवारी पुटिनमा निहित छ। उनले सेना परिचालनलगायत जुनसुकै निर्णय आफैँ एकल रुपमा पनि गर्न सक्छन् । तर, उनी सधैँ महत्वपूर्ण निर्णयका लागि आफ्ना बफादार र रुसी सैन्य सेवामा सँगै सेवा सुरु गरेका विश्वासपात्रहरूको भर पर्छन्। युक्रेनमाथिको आक्रमण पनि तीनै विश्वासपात्रहरूको योजनाअनुसार नै भएको अन्तराष्ट्रिय रिर्पाटहरुमा उल्लेख छन् ।

भ्लादिमिर पुटिन आफैँले तीमध्येको ‘केजीबी’ भनिने गुप्तचर निकायबाट आफ्नो पेसागत यात्रा सुरु गरेका थिए। केजीबी सोभियत पतनपछि रुसी सङ्घीय सुरक्षा सेवा (एफएसबी) बन्यो। पुटिन सत्तामा आएदेखि ‘सिलोभिकी’को प्रभाव बढ्दै गएको छ।

को-को हुन् पुटिनका विश्वासपात्र ?

रुसी रक्षामन्त्री सर्गेई शोइगु
पुटिनका सबैभन्दा नजिकको विश्वासपात्र र सल्लाहकार वास्तवमा रुसी रक्षामन्त्री सर्गेई शोइगु हुन् । जसले रुसी सैन्य गुप्तचर निकाय ‘जीआरयू’समेत हेर्छन्।

रुसी सुरक्षाविज्ञ एवं लेखक आन्द्रेई सोल्दातोभका अनुसार रक्षामन्त्री शोइगु अझै पनि पुटिनले बढी कुरा सुन्ने र निकटस्थ विश्वासपात्र हुन्। ‘शोइगुले सैन्य मामिला मात्र नभई रुसी विचारधारा पनि हेर्छन्। रुसी विचारधारा इतिहाससँग जोडिएको छ र उनी यो भाष्यलाई नियन्त्रण गर्छन्।’ उनी भन्छन् ।

सर्गेई ती व्यक्ति हुन् जो पुटिनसँगै साइबेरियामा सिकार गर्न र माछा मार्न जान्छन्। विगतमा उनलाई पुटिनको सम्भावित उत्तराधिकारीको रूपमा चित्रण गरिएको थियो। उनले पुटिनले जसरी नै युक्रेनलाई निरस्त्र पार्ने र रुसलाई पश्चिमा साझेदारहरूको सुरक्षा धम्कीबाट जोगाउनुपर्ने बताउँदै आएका छन्।

सन् २०१४ मा उनलाई क्राइमियामाथिको सैन्य नियन्त्रणको श्रेय दिइएको थियो। उनी सैन्य गुप्तचर निकाय जीआरयूको समेत नेृतत्व गर्थे। उक्त निकायलाई दुई चरहरूलाई विष आक्रमण गरिएको आरोप लागेको थियो । (पहिलो सन् २०१८ मा यूकेको सालिस्बरीमा र सन् २०२० मा विपक्षी नेता एलेक्सी नभाल्नीलाई साइबेरियामा)

स्रोतका अनुसार सन् १९९० को दशकमा पुटिन र शोइगुबीचको सम्बन्ध चिसो थियो। तर २००० को दशकमा उनीहरूको फेरि कुरा मिल्यो र अन्ततः घनिष्ठता बढ्यो। उनीहरू नियमित रूपमा साइबेरियामा सँगै छुट्टी मनाउन जान्छन् जुन शोइगुको गृहनगर हो।

भालेरी गेरासिमोभ
गेरासिमोभ रुसी सैन्य बलको प्रमुख हुन् । युक्रेनमा आक्रमण गर्ने र काम चाँडै फत्ते गर्ने जिम्मा गेरासिमोभको हो।

सन् १९९९ को चेचेन युद्धमा रुसी फौजको नेतृत्व गरेदेखि उनले अहिलेसम्म पुटिनका अधिकांश सैन्य अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। युक्रेनविरुद्धको सैन्य आक्रमणको योजनामा पनि उनी अग्रपङ्क्तिमा खटेका थिए। गत महिना उनलाई बेलारुसमा सैन्य अभ्यासको निरीक्षण गरेको देखिएको थियो।

रुसी मामिलाविज्ञ मार्क गालिओटीले जेनरल भालेरी गेरासिमोभलाई ‘रूखो र जब्बर’को सङ्ज्ञा दिएका छन्। उनका अनुसार क्राइमिया रुसमा गाभ्ने सैन्य अभियानमा गेरासिमोभको भूमिका प्रमुख थियो।

युक्रेनविरुद्धको सैन्य अभियानको सुस्त थालनी र रुसी सेनाको खस्किँदो मनोबलका कारण उनलाई अहिले कुनामा पारिएको केही विवरणहरूले जनाएका छन्।

तर, रुसी अनुसन्धान पत्रकार आन्द्रेई सोल्दातोभका अनुसार केही मानिसहरू ‘पुटिनले सबै मामिला र सबै सैन्य सैनिक दलको एक्लै निरीक्षण गर्न सक्दैनन् र यही उनको जिम्मेवारी हो’ जस्ता आशावादी टिप्पणी गरेको बताउँछन्। उनी भन्छन्, ‘रक्षामन्त्रीलाई आफ्नो सैनिक पोसाकप्रतिको मोह निकै होला, तर सैन्य अनुभव अभावका कारण उनले पनि विशेषज्ञको भर पर्नुपर्ने हुन्छ।’

निकोलाई पात्रुशेभ
पात्रुशेभ सुरक्षा परिषद्का सचिव हुन् । उनी एक आक्रामक र हक्की स्वभावका व्यक्ति हुन्। उनी पश्चिमा मुलुकहरूले वर्षौँदेखि रुसलाई कमजोर बनाउन खोजेको ठान्छन् ।

पात्रुशेभ राष्ट्रपतिको टोलीभित्र एक महत्त्वपूर्ण पात्र हुन्। उनको र भ्लादिमिर पुटिनको सङ्गत सन् १९७० बाट सुरु हुन्छ जति बेला उनीहरू दुवैले लेनिनग्रादस्थित केजीबीमा सँगै काम थालेका थिए।

‘केजीबी’को उत्तराधिकारीको रूपमा आएको अर्को निकाय ‘एफएसबी’को प्रमुखको रूपमा पुटिनको स्थानमा सन् १९९९ मा पात्रुशेभ आएका थिए। उनी सन् २००८ सम्म यो पदमा रहे। उनी पुटिनको सबैभन्दा निकटस्थमध्ये एक हुन् र सायद पुटिनमा सर्वाधिक प्रभाव जमाउन सक्ने बोली उनकै मानिन्छ।

उनले सन् १९७० यता पुटिनसँगै सेन्ट पिटर्सबर्गमा सेवा गरेका थिए। रुसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्ग त्यतिबेला लेनिनग्रादको नामले चिनिन्थ्यो।

उनले कम्युनिस्ट शासनकालमा ‘केजीबी’ भनिने सुरक्षा निकायमा पुटिनसँगै काम गरे। सन् १९९९ मा केजीबीको उत्तराधिकारीको रूपमा आएको अर्को संस्था ‘एफएसबी’मा पुटिनलाई प्रतिस्थापन गर्दै उनी प्रमुखको रूपमा आएका थिए। उनले त्यहाँ सन् २००८ सम्म सेवा गरे। सैन्य आक्रमणमा विश्वास गर्ने अधिकारीहरूमध्ये उनी एक प्रमुख हुन्।

अलेक्जान्डर बोर्तनिकोभ
रुसको संघिय सुरक्षा सेवा एफएसबी का निर्देशक हुन्, बोर्तनिकोभ । रुसी राष्ट्रपति अन्य स्रोतबाट प्राप्त जानकारीभन्दा सैन्य निकायबाट प्राप्त जानकारीप्रति अधिक विश्वास गर्छन्। यस मामिलामा बोर्न्तिकोभ पुटिनसँग नजिक मानिन्छन्।

उनको पुटिनसँगको सङ्गत लेनिनग्रादस्थित केजीबीमा काम गर्दादेखिकै हो। केजीबीको उत्तराधिकारी निकाय एफएसबीको प्रमुखको रूपमा निकोलाई पात्रुशेभपश्चात् उनी आएका थिए।

पात्रुशेभ र बोर्त्निकोभ दुवै पुटिनको निकटस्थ र विश्वासपात्र मानिन्छन्। तर बेन नोबलका अनुसार पुटिनले लिने निर्णयहरू यी दुईमध्ये कसको हो भनेर खुट्याउन गाह्रो छ।

देशका कानुन कार्यान्वयनकारी निकायहरूमा एफएसबीकोप विशेष प्रभाव छ र उसको आफ्नै छुट्टै विशेष फौज पनि छ। आन्द्रेई सोल्दातोभका अनुसार बोर्न्तिकोभ महत्त्वपूर्ण छन्। तर उनी पुटिनलाई चुनौती वा अरूले जसरी सुझाव दिन सक्दैनन्।

उनी सन् २००८ मा पात्रुशेभलाई प्रतिस्थापन गर्दै एफएसबी प्रमुख बनेका थिए । उनी दशकौँ अनुभव भएका काउन्टर इन्टेलिजन्श एजेन्ट हुन्।

एफएसबीको कानुन बनाउने अन्य मन्त्रालयहरूमा पनि उनको प्रभाव छ। जस्तैः आन्तरिक मन्त्रालय र अभियोजक जेनरलको कार्यालय। ब्रिटेनको विशेष हवाई सेवा (एसएएस) जस्तै एफएसबीको पनि आफ्नै विशेष हवाई सैन्य बल छ जसमा विशिष्ट अल्फा र भिम्पेल समूहहरू पर्छन्।

सर्गेई नारीस्किन
नारीस्किन फरेन इन्टेलिजन्स सर्भिस एसभीआरको निर्देशक हुन् । लेनिनग्रादमा पुटिनसँगै सेवा गर्ने तीन जनामध्ये नारीश्किन पनि एक हुन्। उनले सेवावधिको अधिकांश समय पुटिनसँगै बिताए।

सर्गेई नारीश्किन लामो समय पुटिनको छत्रछायामा रहे। सन् १९९० को दशकमा सेन्ट पिटर्सबर्गमा, त्यसपछि सन् २००४ मा पुटिनको कार्यालयमा र अन्ततः संसद्को सभामुखको रूपमा। उनी ‘रुसी ऐतिहासिक समाज’को प्रमुख पनि हुन् र सोल्दातोभको विचारमा उनले राष्ट्रपतिलाई उनको कार्यका लागि वैचारिक आधार प्रदान गर्न आफूलाई निकै महत्त्वपूर्ण साबित गरेका छन्।

सर्गेई लाभ्रोफ
परराष्ट्र मामिलामन्त्री सर्गेई लाभ्रोफ हक्की र आक्रामक स्वभावका छन् । रुसका अनुभवी कूटनीतिज्ञमध्ये एक लाभ्रोफले सन् २००४ देखि लगभग दुई दशक परराष्ट्र मन्त्रालयको नेतृत्व गरेका छन्।

लाभ्रोफले पुटिनसँग अध्ययन वा सुरक्षा सेवामा सँगै काम भने गरेनन्। यद्यपि रुसी राष्ट्रपतिले उनलाई धेरै आदर गर्ने बताइन्छ। समकालीन साथी र सङ्गतको साथ र सहयोगभन्दा पर आफ्नो व्यावसायिकता, कडा परिश्रम र लामो सेवा अवधिमा केही गल्ती नगरी उनले यो प्रतिष्ठा आर्जेका हुन्।

अठार वर्षदेखि रुसको वरिष्ठतम कूटनीतिज्ञका रूपमा कार्यरत लाभ्रोभले रुसको मुद्दालाई विश्वसमक्ष प्रस्तुत गर्दै आएका छन्। यसका बाबजुद निर्णय प्रक्रियामा उनको ठूलो भूमिका नरहेको विश्वास गरिन्छ।

७१ वर्षीय लाभ्रोभले विगतमा गरेका काम र तथ्याङ्कप्रति पुटिन भर पर्ने गरेको बताइन्छ।

उनी एक चतुर कूटनीतिज्ञ हुन्। उनले गत महिना ब्रिटिश विदेशमन्त्री लिज ट्रसलाई उनको रुसी भूगोलको ज्ञानका कबारे खिल्ली उडाएका थिए र ठिक एक वर्षअघि ईयूको विदेशनीति प्रमुख जोसेफ बोरेललाई अपमानित गरेका थिए।

पुटिनले रुसी प्रतिष्ठानभित्र र बाहिरका अन्य प्रमुख व्यक्तित्वहरूसँग पनि व्यक्तिगत छलफल गर्ने बताइन्छ।

राजनीतिक विश्लेषक येभ्गेनी मिन्चेन्को धेरै वर्षदेखि रुसी अभिजात वर्गको अध्ययन गर्दै आएका छन्। उनले नियमित रूपमा भ्लादिमिर पुटिनको सङ्गतहरूबारे प्रतिवेदनहरू सङ्कलन गर्छन्, जसलाई उनले सोभियत कम्युनिस्ट शीर्ष नेताहरूको सम्मानस्वरुप ‘पोलिटब्यूरो २.०’ भनेर सम्बोधन गर्छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार