एसईई प्रश्नपत्र छपाइ शुक्रबारबाट सुरु हुँदै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ गर्ने गरी तयारी छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र केन्द्रका करिब ४० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् । नेपाली सेनाको सेनानी (मेजर) को नेतृत्वमा ३० जना सशस्त्र र नेपाल प्रहरीका ४५ जना गरी ७५ जना सुरक्षाकर्मीको घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले प्रश्नपत्रसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । प्रश्नपत्र छपाइ गर्न उनीसहितको टोली बिहीबार जनक शिक्षा प्रवेश गर्नेछन् । यस वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउने तयारी भएको बताए पनि छपाइ गरेकै प्रश्नपत्र उपलब्ध गराउने भएको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा दुई प्रकारका मोडालिटी तयार गरिएको जानकारी दिए । उनले भने– ‘सुगम र नेट पुगेका केन्द्रमा अनलाइन र अन्य केन्द्रमा प्रश्नपत्र पुर्याउने तयारी गरेका छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार