वन आयोजनाका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता

समृद्धिका लागि वन आयोजनाका लागि नेपाल सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोड रूपैंयाँ बराबरको वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताको कुल रकम मध्ये ७१ करोड रूपैंया अनुदान र २ अर्ब ९ करोड रूपैंया सहुलियतपूर्ण ऋण रहेको छ । आयोजनाले नपालको दिगो वन व्यवस्थापनसँगै समुदायमा आधारित वन संरक्षण प्रयासलाई टेवा पुर्याउने अर्थ मन्त्रालय र विश्व बैंको भनाइ छ । यस आयोजनाले ५० वटा स्थानीय तहलाई सहयोग पुर्याउने बताइएको छ ।

कार्यक्रममा अर्थसचिव ढुंगानाले आयोजनाले नेपालको वनमा आधारित निजी क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले आयोजना हरित आर्थिक वृद्धिका लागि सुरुवातको बिन्दु हुने बताए । सो अवसरमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसबीच आयोजनाको सहमतिपत्रमा पनि हस्ताक्षर भएको थियो । आयोजनाको कार्यान्वयन गर्ने एक संस्थाका रूपमा कृषि विकास बैंकले वनमा आधारित साना र मझौला उद्यमहरूको स्थापना र सुदृढीकरण गर्न कर्जाको डिजाइन र परीक्षण गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार