माओवादी छाडेका नेतालाई ‘गद्दार’ घोषणा गर्न माग

नेकपा माओवादी केन्द्रका प्रतिनिधिले एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुलाई ‘गद्दार’ घोषणा गर्न माग गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक वैचारिक दस्तावेजमाथि समूहगत छलफलको निष्कर्ष सुनाउँदै प्रदेश १ को एउटा समूहले पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणिचन्द्र थापालगायत नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका हुन् ।

समूहका तर्फबाट टोली नेता हर्कबहादुर नेम्वाङ ‘मेक्सो’ले प्रस्तुत गरेको सुझावमा बादललगायतका नेताले माओवादी र समग्र कम्युनिस्ट आन्दोलनमा गद्दारी गरेकाले दस्तावेजमा समेट्नुपर्ने माग गरिएको छ ।

सो सुझाव सुनेका प्रदेश १ को अर्को समूहका नेता एवं प्रदेश सरकारका पूर्वमन्त्री पदमबहादुर राईले अर्को टिमले उपयुक्त सुझाव दिएको बताए ।

‘जुन टिमले गरे पनि ठिक कुरा हो । बादललगायत नेतालाई कारवाहीको कुरा दस्तावेजमा सम्बोधन गर्नुपर्छ,’ उनले जनतापाटीसँग भने ।

उक्त समूहले विचारबिना, वैचारिक मेलबिना केपी ओलीको एमालेसँग गरेको पार्टी एकता गल्ती थियो भनेर पनि उल्लेख गर्न सुझाव दिएको छ । यद्यपि महाधिवेशन उदघाटन सत्रमा अध्यक्ष प्रचण्डले एकता गलत थिएन भनेर भनेका थिए । एमालेका महासचिव शंकर पोखरेलले पनि नेकपा एकता गल्ती थिएन भनेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार