बजिमय बनिन् खोटाङ कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्य

खोटाङले नेपाली कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्य पाएको छ । नेतृ सरस्वती बजिमय जिल्लाबाट कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्य बनेकी हुन् ।

१४औं राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति (महिला) तर्फ दुई हजार ४८ मत ल्याएर बजिमय केन्द्रीय सदस्यमा विजयी भएकी हुन् । हालसम्म जिल्लाका दर्जनौं नेताले विभिन्न राष्ट्रिय महाधिवशनमा कांग्रेस केन्द्रीय सदस्य चुनिन प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।

बजिमय तेस्रो प्रयासमा केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनी २०६७ र २०७२ कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । २०५७ सालमा कांग्रेसमा फुट आएकाबेला तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्यमा मनोनीत भएका विदुरप्रसाद पौडेल २०६२ सालमा पार्टी समायोजन हुँदा पनि केन्द्रीय सदस्य नै बनाइएका थिए ।

पौडेल जिल्लाको पहिलो कांग्रेस मनोनीत केन्द्रिय सदस्य र बजिमय निर्वाचन प्रकृयाबाट जिल्लाको पहिलो निर्वाचित केन्द्रीय सदस्य बनेको कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई बताउँछन् ।

२०७० सालमा समानुपातिक सांसद बनेकी बजिमय २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएकी थिइन् । २०३६ सालको जनमतसंग्रहपछि कांग्रेस निकट महिला संगठनबाट राजनिती थालेकी उनले महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला विभागको केन्द्रीय सदस्य, महासमिति सदस्यलगायतका भूमीका निर्वाह गरिसकेकी छन् ।

२१ फागुन २०१३ मा ओखलढुंगा बजारमा जन्मिएकी बजिमयको स्थायी बसोबास दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१ दिक्तेलमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार