लालबाबु पण्डितको जस्तो तेल खाँदैन तिर्थेन्द्रको साइकलले

नेकपा एमाले नेता लालबाबु पन्डितले गत संघीय संसदको चुनावमा धन सम्पतिका नाममा एउटा मात्र साइकल रहेको बताए । जुन निकै चर्चामा रह्यो । चुनावी प्रत्यासी डा. शखेर कोइरालालाई साइकलमा चढेर गए चुनाव जितेपछि लड्डु खुवाउने अभिव्यक्ति दिए । सो बेला उनको सामाजिक सञ्जालमा प्रशंसा भयो ।

चुनाव जितेपछि केपी ओली नेतृत्वको सरकारमा उनी सामान्य प्रशासनमन्त्री बने । तर, उनले मन्त्रालय समालेको धेरै समय नबित्दै तेल खाने मन्त्री भनेर विरोध गरियो । त्यति मात्र होइन तेल खाने साइकल, तेल खाने साइकलमन्त्री समेत भनेर उनीमाथि टिप्पणी भए ।

पन्डितको साइकलले तेल खाएको टिप्पणी भए पनि मोरङका एक वडा अध्यक्षको साइकलले भने तेल खाएको छैन । मोरङको विराटनगर महानगरपालिकाको–११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने साइकल चढेर नै जनताको काम गर्छन् । उनी वडाभित्रको काममा जानुपर्दा साइकलमा जाने गर्छन् । शारीरिक रूपमा फाइदा हुने भएपछि बिहान बेलका वडाभित्रैका काममा साइकलको प्रयोग गर्ने गरेको उनले बताए । कार्यालय र जनताको काम सकिएपछि साइकल चढेर सिधै घरमा आउने गरेको उनी बताउँछन् ।

विक्रम संवत् २०१७ सालमा संखुवासभाको चैनपुर नगरपालिकामा जन्मेका न्यौपाने २०३५ सालमा एसएलसी पास गरेर विराटनगरमा बसाइ सरेका थिए । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका न्यौपानेको क्यामपस पढ्दा कांग्रेस निकट विद्यार्थि नेताहरूसँग मात्र चिनजान थियो । उनको अरु दलका विद्यार्थी संगठनका नेतासँग भने चिनजान थिएन । ‘कांग्रेसका विद्यार्थी नेता नेता साथीहरूसँग लामो समय संगत गरे पनि मैले राजनीति भने गरेको थिइँन’, उनले भने, ‘अखिलका विद्यार्थी नेताहरूले घरमै आएर हाम्रो कमिटीमा बसौँ भनेर निकै कर गरेपछि संगठित भएर विद्यार्थी राजनीतिमा होमिएको सुनाए ।’

राजनीति सुरु गरेपछि उनको एमालेका नेताहरूसँग पनि चिनजान भयो । ‘पहाडबाट आएको अलिक एकान्तमा नै बसौँ भनेर सल्लाह भयो र हाम्रो घर भएको ठाउँ त्यतिबेला एकान्त थियो’ उनी भन्छन्, ‘कम्युनिस्टको राजनीति गर्ने ठाउँ पनि एकान्तमै चाहिँदो रहेछ । सबै नेताहरूले एकान्तमा तिथेन्द्र कमरेडको घर छ उहाँका बसेर संगठन बढाउनु पर्छ भनेर केन्द्रका नेताहरूले पनि मेरो घर प्रयोग गर्नु भयो । मेरो घरलाई अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीदेखि अशोक राईसम्मले प्रयोग गरे ।’

एमालेका संस्थापक नेता मदन भण्डारी, अशोक राई, माधव नेपाल विद्यादेवी भण्डारीलगायत नेताहरू विराटनगर आउँदा न्यौपानेकै घरमा बस्ने गर्थे । विद्या भण्डारी धेरैपटक बसेको उनले सुनाए । ‘विद्यादेवी भण्डारीसँग राम्रो चिनजान भए पनि उहाँ राष्ट्रपति भएपछि भेट्न आउनु भएको छैन । म पदको फाइदा उठाउन भने गइँन’, उनले भने, ‘अहिलेसम्म पार्टीको कुनै जिम्मेवारीमा बसेको पनि छैन ।’

विराटनगर महानगरपालिका–४ कांग्रेसको किल्लाका रूपमा चिनिन्छ । कांग्रेसको गढ भएपछि एमालेलाई उम्मेदवार पाउन नै त्यो वडामा हम्मे थियो । ‘आराम गर्नुप(र्यो भनेर बसेको थिएँ, चुनावमा उठ्ने रहर थिएन । पार्टीका साथीहरू आएर तपाईं हुँदा केही भोट बढ्छ, नजिते पनि एमाले हो, चुनावमा सहभागी हुनुपर्छ भनेर करकाप गरेपछि चुनावी मैदानमा होमिएँ । वडावासीहरूको साथ सहयोगले मलाई विजयी बनाउनु भयो,’ उनले भने ।

उनले आफैंले पनि चुनाव जित्छु भन्ने सोचेका थिएनन् । तर, नसोचेको रिजल्ट आएपछि उनलाई चिन्ताले सतायो । ‘२० वर्षसम्म कर्मचारीले चलाएको देश गणतन्त्रपछि स्वायत्त स्थानीय सरकार नयाँ जनप्रतिनिधि कसरी अगाडि बढ्ने भनेर मलाई ठूलो चिन्ता भयो’, उनले भने, ‘अरू खुसीयालीमा थिए, मेरो अनुहारमा भने रुन्चे हाँसो थियो ।’

दुईवटा कोठाको घरमा वडा अध्यक्ष न्यौपानेले करिब तीन वर्ष वडा कार्यालय चलाए । विराटनगर महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकले वडा अध्यक्षलाई कार्यालय सञ्चालनका लागि फर्निचर खरिद गर्नका लागि दुई लाख रुपैयाँका दरले दिने निर्णय ग(यो । उनले पनि त्यो बैठकमा सहमति जनाएर हिँडेका थिए । वडा व्यवस्थापनमा लगिएको पैसा अध्यक्षहरूले फर्निचरका सामग्रीहरू किने । खरिद गर्दा कमिसन आउने भनेर केही वडा अध्यक्षहरूले भनेपछि पैसा नलिएको न्यौपानेले सुनाए ।

‘प्रमुख प्रशासकीय अधिकृतलाई मात्र कतै हल्ला नगरिदिनुहोस्, म पैसा लाँदिन भनेँ । भनौं भने सस्तो लोकप्रियता भन्छन् भनेर कसैलाई भनिनँ, कहीँ कतै हल्ला पनि भएन्’, उनले भने ।

महानगरपालिकाले वडाध्यक्षहरूलाई मोटरसाइकल दिने निर्णयमा सहमति गरे पनि उनले मोटरसाइकलसमेत लिएका छैनन । अरू अध्यक्षलाई मोटरसाइकलको आवश्यकता होला भनेर विराध नजनाएको उनी बताँउछन् । उनी भन्छन्, ‘मेरा लागि भनेर मोटरसाइकल खरिद नगर्नुहोस् भनेर प्रमुख प्रशासकीय अधिकृतलाई भनेँ । पछि खरिद गरेर मेरो नाममा दुरुपयोग पो भयो कि भनेर खोजी पनि गरेँ ।’

वडामा आएका कर्मचारीलाई वडाको पहिलो बैठकमै सरकारले तोकेकोभन्दा एक रुपैयाँ बढी कमाउँछु भन्ने कसैलौ नसोचौं, म पनि सोच्दिनँ भनेर भनेको उनी सुनाउने गर्छन् ।

कर्मचारीलाई आफनो लक्ष्यमा ल्याउनका लागि ठूलो मेहनत गर्नु परेको उनले बताए । सही प्रणालीमा ल्याउन ६ महिनासम्म निकै ठूलो मेहनत गर्नुपरेको उनी बताउँछन् । ‘मैले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलाई नै राखेर मेरो वडामा यस्ता खालका कर्मचारी पठाइदिनुहोस् भनेर पनि भनेँ । आफैँ पनि को कस्ता कर्मचारी छन् भनेर खोज्न लागिपरेँ, अहिले मैले भनेजस्तै कर्मचारी पाएको छु,’ उनले भने ।

वडामा हालसम्म एउटा काम पनि कोटेसनबाट नभएको उनी दाबी गर्छन् । ‘वडामा हुने काम टेन्डर वा सिधै उपभोक्ता समितिबाट हुने गरेका छन्’, उनले भने, ‘उपभोक्ता समितिबाट बनाउँदा पनि सबैलाई सहभागी गराएर आफ्नालाई नभई सहभागीले रोजेकालाई बनाएर काम गर्ने गरेको छु । आफ्नै पार्टीका साथीहरू रिसाउँछन्, हामीलाई पनि काम दिनु प¥यो भन्छन् । मैले उहाँहरूलाई कार्यालयको नियम पूरा गरेर आउनुहोस्, मसँग भन्नु नै पर्दैन भनेको छु ।’

उनका लागि अहिले पनि एउटा विषयले भने मन परोल्लिएको छ । उनले सुनाए, ‘महानगरपालिकामा जनप्रतिनिधिको सेवासुविधा थोरै भयो भनेर हामी सबै बसेर कार्यपालिकाको निर्णयबाट सेवासुविधा बढाउने निर्णय ग-यौँ । बढेको सेवासुविधा कार्यान्यवमा आइहाल्यो । तर, एक जना सचेत नागरिकले जनप्रतिनिधिले आफू खुसी सेवासुविधा लिएको भनेर अदालतमा जाहेरी दिनुभएछ । अदालतले पनि कार्यान्वयन नगर्नू भनेर फैसला ग-यो । मैले त्यो अदालतको फैसला आएकै भोलिपल्ट कसैलाई नभेटी प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई भेटेर अस्ति लिएको सेवासुविधा के गर्ने भनेर सोधेँ । उहाँहरूले अब नखाने, खाएको सक्किगयो भन्नुभयो । पछि महालेखाको प्रतिवेदनले त्यो तिर्नू भनेर लेख्यो । कोहीसँग सल्लाह नै नगरी मेयरसावले बुझाइ हाल्नुभएछ । त्यो थाहा पाएपछि गएर मैले पनि ऋण खोजेर लगेर बुझाएँ । अहिले सम्म मैले गरेको गल्ती त्यही हो जस्तो लाग्छ । त्यो मेरा लागि पीडाको विषय पनि बनेको छ ।’

वडा अध्यक्ष न्यौपानेले जनप्रतिनिधिबापत पाएको सेवासुविधासमेत घरमा खर्च गर्ने गरेका छैनन् । उनको सोवासुविधा मासिक २७ हजार हुन्छ । तर, त्यो आफूले अहिलेसम्म पनि घरमा ल्याएर खर्च नगरेको न्यौपाने बताँउछन् । ‘प्रहरी कार्यालयमा रंग लगाउनका लागि ५० हजार रुपैयाँसमेत सेवासुविधाबाट दिएको छु’, उनले भने, ‘वडा अध्यक्षहरूलाई मासिक १५ लिटर पेट्रोल दिन्थ्यो, मैले त्यो तेल ल्याएर प्रहरीलाई एक वर्षसम्म दिएँ ।’

Loading...