लोकप्रिय बन्ने होडमा कतै अप्रिय भावना दबाउनु भएको त छैन !

तपाईं प्रायः जसो यस्ता मानिसहरूलाई साथी बनाउनुहुन्छ, जसले तपाईंका हरेक कुराहरूलाई समर्थन गर्छन्— तपाईंले सोच्ने, महसुस गर्ने र बुझ्ने तरिकाहरू साथै तपाईंका रुचि र अरुचिहरू । तपाईंले आफूलाई जस्तो बनाउनु भएको छ, तपाईंले त्यसैको समर्थनको लागि कोही खोजिरहनु भएको हुन्छ ।

एकचोटि यस्तो भयो… जाडोयाममा एउटा सानो चराले अलि बढी नै मौसमको आनन्द उठायो, जसकारण दक्षिणतर्फ यात्रा ढिला आरम्भ गऱ्यो । उसले अत्यन्तै जाडोमा यात्रा शुरु गऱ्यो अनि उड्ने कोसिस गऱ्यो । तर, ऊ जाडोले कठ्याङ्ग्रिएर खस्यो । त्यही बाटोबाट एउटा गाई गइरहेको थियो, अनि बाटोमै उसले गोबर गऱ्यो । गोबर ठीक त्यही चरामाथि खस्यो अनि चरा पूरै ढाकियो । गोबरको न्यानोपनले कठ्याङ्ग्रिएको चरा बिस्तारै–बिस्तारै सामान्य अवस्थामा फर्कियो अनि ऊ राम्रो महसुस गर्दै खुसीले चिर्बिराउन थाल्यो ।

त्यसैबेला, एउटा बिरालो त्यही बाटोबाट जाँदै थियो । उसले चिर्बिराहट सुन्यो, चारैतिर हेऱ्यो अनि गोबरभित्रबाट आवाज आइरहेको कुरा चाल पायो । उसले गोबर हटायो, चरालाई गोबरबाट निकाल्यो अनि खाइदियो । अतः जसले तपाईंमाथि रद्दी थोपर्छ, ऊ तपाईंको शत्रु नै हुन्छ भन्ने हुँदैन । अनि, जसले तपाईंलाई रद्दीबाट बाहिर निकाल्छ, ऊ तपाईंको मित्र नै हुन्छ भन्ने हुँदैन । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, जब तपाईं रद्दीले भरिनुहुन्छ, तब आफ्नो थुतुनो बन्द राख्न सिक्नुहोस् !

यदि तपाईं कसैको साथी हुनुहुन्छ भने, तपाईंले जतिबेला पनि उनको गल्तीहरू औँल्याउने, उनलाई निच देखाउन आवश्यक छैन । तर साथसाथै, तपाईंभित्र मानिसहरूबिच अलोकप्रिय वा खरो हुने साहस पनि हुनुपर्छ । अरूहरूमाझ लोकप्रिय बन्ने होडमा, आफ्नो सेरोफेरोमा सुखद माहोल बनाइ राख्ने प्रयासमा, हेर्नुस् त तपाईंले आफूभित्र कति अप्रिय भावना दबाएर राख्नुभएको छ !

यदि तपाईंले अप्रियतालाई दबाउनुभयो, यदि तपाईंले माटोमा अप्रियताको बिउ रोप्नुभयो भने, तपाईंले अप्रियताकै फल पाउनुहुनेछ । यदि कोही वास्तवमै तपाईंको मित्र हो भने, तपाईंभित्र उसको अगाडि अप्रिय हुने साहस हुनुपर्छ, अनि साथसाथै ऊ प्रति प्रेम र सद्‌भाव हुनुपर्छ । यतिखेर, तपाईंको मित्रता केवल सहमति, रुचि-अरुचिमा बनिरहेको छ । तर, चाहे तपाईंहरू स्याउ र सुन्तला जस्तै भिन्न–भिन्न भए तापनि, तपाईं असल साथी बन्न सक्नुहुन्छ । साँचो साथी ऊ हो, जसमा तपाईं कुन हदसम्म लन्ठू हो भनेर भनिदिने साहस हुन्छ, अनि त्यसबेला पनि तपाईंप्रति उसमा प्रेम र स्नेह रहिरहनेछ— यही सही अर्थमा मित्रता हो ।

म एकजना चिकित्सकलाई जान्दथेँ, जो बियर पिउँथे । जब ऊसँग मेरो भेट भयो, उनी लगभग सत्तरी वर्षका थिए— ठूलो आँत भएका अग्ला व्यक्ति । केही समयअघि उनी प्राय: आफ्नो साथीलाई भेट्न जान्थे । जब उनी भेट्न जान्थे, अर्को साथीले बियर टक्रयाउँथे अनि दुवैजना सँगै बसेर पिउँथे । समय हुनेबित्तिकै, कहिले साथी यता आउँथे, त कहिले उनी उता जान्थे ।

अचानक एकदिन साथीको कुनै गुरुसँग भेट भयो अनि उनले आध्यात्मिक अभ्यासहरू शुरु गरे, जसपश्चात उनले बियर पिउन छाडे । ती डाक्टरले मलाई यो कथा पूरै विस्तारमा सुनाए, अनि यो भने कि त्यही क्षण उनीहरूबिचको गहिरो मित्रताको अन्त्य थियो । त्यसपश्चात, यिनी कहिल्यै पनि ती साथीको घर जान चाहेनन्, किनकि साथीले बियर पिलाउन छाडेको थियो । थुप्रै मानिसहरूको मित्रता कुनै यस्तै कारणले समाप्त हुने गर्दछ । जबसम्म कुनै चिज चलिरहन्छ, त्यो कायम रहन्छ । त्यो नहनेबित्तिकै सबैथोक समाप्त हुन्छ ।

यदि तपाईंको जीवनमा कोही सच्चा साथी छैनन् भने, तपाईंले केही अभाव महसुस गर्नुहुन्छ । आखिर, साथी भनेको के हो ? साथी भनेको तपाईं जस्तै अन्योलमा जेलिएको अर्को व्यक्ति न हो । साथी वा मित्र भनेको उत्तम वा पर्फेक्ट मानिस होइन । कुरा यत्ति हो कि जब दुईजना व्यक्तिहरू एकआपसमा यति सहज बन्छन् कि कम्तीमा पनि उनीहरू एक–अर्काप्रति साँचो रूपमा प्रस्तुत हुन्छन्, तबमात्र त्यहाँ मित्रता रहन्छ । तपाईंको साथी पनि तपाईं जत्तिकै अस्तव्यस्त र भ्रमित रहेको हुन्छ । तर, यदि दुईजनाले एक–अर्काबिच निष्ठा कायम गर्ने हो भने, उनीहरू सही अर्थमा साथी बन्दछन् । तपाईंसँग एकजना मात्रै नभई थुप्रै साँचो साथीहरू हुनुपर्छ । यदि तपाईंको जीवनमा एकजना पनि त्यस्तो साथी छैनन् भने, तपाईंले आफ्नो जीवनमा केही गर्नु उत्तम हुनेछ । किनकि, मित्रता भनेको एक–अर्काको फाइदाको लागि गरिने आदान–प्रदान वा लेनदेन होइन; मित्रता भनेको दुई जीवनहरूको विशेष मिलन हो । – न्युज कारखाना

Loading...