आज चन्द्रग्रहण लाग्दै तर बार्नु नपर्ने

कार्तिक शुक्ल पूर्णिमाका दिन चन्द्रग्रहण लाग्दैछ । नेपाली समयानुसार दिउँसो १.०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४.३२ बजेसम्म देखिने जनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपाली आकाशबाट ग्रहण नदेखिने हुनाले ग्रहण बार्नु पर्दैन ।

आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

भारतका ज्योतिषाचार्य पण्डित मनिश शर्माका अनुसार जहाँबाट चन्द्रग्रहण देखिँदैन त्यहाँ सुतक पनि रहनेछैन, यो ग्रहको धार्मिक मान्यता पनि हुनेछैन । उनका अनुसार जहाँ जहाँ चन्द्र ग्रहण देखिनेछ, ती क्षेत्रमा मात्रै सुतकजस्ता धार्मिक मान्यता हुनेछ ।

एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्रग्रहण देख्न सकिने नेपाल एष्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । नेपालबाट विरलै छायाँजस्तो भागमात्र देखिने र नाङ्गो आँखाले त्यो पनि देख्न नसकिने उनले बताए । यसपटकको चन्द्रग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार