नास्टसहित विभिन्न संस्थाको साझेदारीमा नेपालको दोस्रो भू-उपग्रह परियोजना सुरु

नेपालमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा दोस्रो भूउपग्रह परियोजना सुरु गरिएको छ ।

पहिलो नेपाली भू–उपग्रह नेपाली स्याट–१ को सफलतापछि गत बुधबार काठमाडौं युनिभर्सिटी हाइस्कुल, धुलिखेलमा आयोजित एक कार्यक्रमबीच दोस्रो भूउपग्रह परियोजना शुभारम्भ गरिएको हो ।

यो परियोजनामा नेपाल सरकार, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल र काठमाडौं युनिभर्सिटी हाइस्कुलको संयुक्त साझेदारी रहेको छ । यो परियोजनाको प्रिन्सिपल इनभेस्टीगेटरका रूपमा नेपाली वैज्ञानिक डा। आभाष मास्के रहेका छन् । हाल बडर्स–३, भूउपग्रह परियोजनाका प्रमुख रहेका मास्केले यसअघि नेपाली स्याट–१ नामक भूउपग्रह निर्माण टिमको नेतृत्व लिएका थिए ।

थाइल्याण्डको आर्थिक विकासका लागि अन्तरिक्ष प्राविधिक संस्था मिनि बर्डसको एउटा भाग रहेको यस परियोजनाअन्तर्गत थाइल्यान्डले चारवटा, नेपालले एउटा भूउपग्रह निर्माण गर्ने लक्ष्य लिइएको विज्ञप्तिमार्फत् जनाइएको छ । यो भूउपग्रहलाई प्राविधिक भाषामा ‘वानयुक्युबस्याट’ भनिन्छ । विद्यालय तहका विद्यार्थीको सहभागिता रहेको यो परियोजना विश्वकै पहिलो भूउपग्रह नक्षत्र परियोजना हुने उल्लेख गरिएको छ ।

अन्तरिक्ष भू–उपग्रह निर्माण गर्ने प्रयोगशाला ‘स्पेस सिस्टम ल्याबोरेटोरी’ काठमाडौं युनिभर्सिटी हाइस्कुल, चौकोट, काभ्रेमा रहेको छ । यस परियोजनामा काठमाडौं युनिभर्सिटी हाइस्कुलसहित काभ्रेकै सञ्जीवनी नमुना मावि, धुलिखेल, चैतन्य मावि बनेपा र आजाद मावि बनेपाका कक्षा ११ मा अध्ययनरत ९ जना विद्यार्थी संलग्न हुने विज्ञप्तिमार्फत् जानकारी दिइएको छ । काठमाडौं युनिभर्सिटी हाइस्कुलका ६ जना र अन्य स्कुलका १–१ जना गरी कूल ९ जना विद्यार्थी सहभागिता रहनेछन् ।

यो परियोजनाको समयावधि सुरुदेखि प्रक्षेपण गर्ने बेलासम्म दुई वर्षको हुनेछ । यो भूउपग्रह निर्माण भएपछि पृथ्वीबाट ४ सय किमि दूरीमा पृथ्वीको कक्षमा परिक्रमा गराइने छ । काठमाडौं युनिभर्सिटी हाइस्कुलमा रहेको यो अन्तरिक्ष प्रणाली प्रयोगशाला, बनेपाले उपत्यकाका लागि विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको आउटरिच केन्द्रका रुपमा काम गर्ने बताइएको छ ।

यस परियोजनामा डाँफे स्पेस मिसनअन्तर्गत प्रशिक्षित विद्यार्थीको समूहले उल्लिखित विद्यालयका विद्यार्थीलाई आवश्यक तालिम र प्रशिक्षण प्रदान गर्ने छ ।

नेपालका सरकारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले भू –उपग्रह निर्माण गर्न सक्छन् भन्ने तथ्य प्रमाणित गर्नु यो परियोजनाको उद्देश्य हो । यस परियोजनाको लक्ष्य हासिल गर्न काठमाडौं युनिभर्सिटी हाइस्कुलमा सुरु भइसकेको पहिलो चरणको भू–उपग्रह निर्माणसम्बन्धी बुटक्याम्प डिसेम्बर ३१, २०२१ सम्म चल्ने जनाइएको छ ।

पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा सुरु गरिएको यो परियोजनाको मुख्य सहयोगीका रूपमा नेपाल सरकार रहने छ भने अन्य आर्थिक सहयोग निजी संस्थाबाट संकलन गरिने विज्ञप्तिमा उल्लेख छ ।

यस परियोजनाको मुख्य सहयोगी संस्था अन्तरिक्ष प्रतिष्ठान नेपालले हालसम्म सानिमा बैंक, हिमालयन जनरल इन्स्योरेन्स, बैंक अफ काठमाडौं र गरिमा विकास वैंकबाट सहयोग पाइसकेको छ । अन्तरिक्ष प्रतिष्ठान नेपाललाई डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र तथा न्याटकम र युनेस्कोको पनि सहयोग रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार