मन्त्री आलेको सक्रियता, ‘बिहानीले दिनको संकेत’

दुई महिना नहुँदै नागरिक उडड्यान क्षेत्रमा उल्लेख्य सुधार

चाडवाडको मुखैमा परिवार र लालाबाला छाडेर विदेशिन बाध्य युवा विमानस्थलको पार्किङमा दौडँदै थिए । अस्तव्यस्त पार्किङ र वरिपरिको भिडभाडले कोरोनाका त्रासमाथि जहाजसम्म पुग्ने बाटो पहिल्याउन यात्रुलाई कठिन थियो । त्यसमाथि युएई प्रवेशका लागि गर्नुपर्ने पीसीआरको तनाव र मनपरी मूल्य सुनेर आफ्नै देशप्रति धिक्कार्नुपर्ने अवस्थाले यात्रु हैरान थिए ।

यहीबिच विमानस्थलमा एक्कासी पुगेका मन्त्रीले यात्रुको गुनासो सुन्छन् र यसलाई तत्काल समाधान गर्न निर्देशन दिन्छन् । आफ्नै देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अस्तव्यस्त दृश्यले निराश बनेका यात्रुमा क्षणभरमै उत्साह भरिन्छ । यो दृश्य दुई हप्ताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको हो । जति बेला संस्कृति पर्यटन तथा नागरिक उडड्यानमन्त्री प्रेम आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागी महानिर्देशक राजकुमार क्षेत्रीसहित पुगेका थिए ।

त्यसो त नेपालको संस्कृति पर्यटन तथा नागरिक उडड्यान मन्त्रालय मातहतका कामको दायरा निक्कै फराकिलो छ । देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल मन्त्रालय मातहतको सबैभन्दा महत्त्वपूर्ण अंग भएकाले होला मन्त्री बनेको महिना दिन नपुग्दै मन्त्री आले दुई पटक अनुगमनकै लागि पुगिसकेका छन् । दुवैपटक विमानस्थल पुग्दा उनले दिएको निर्देशन यात्रुको वाहिवाहीका लागि मात्रै होइन विमानस्थल सुधार्ने ऐतिहासिक कदम भएको सरोकारवाला बताउँछन् ।

मन्त्री आलेको यो सक्रियतालाई केहीले त देउवा सरकारका मन्त्रीमध्ये उत्कृष्ट बन्ने दौडका रूपमा समेत चर्चा गर्ने गरेका छन् । आफूले देखिने गरि काम गर्न नसके मन्त्री पदबाटै राजीनामा दिने उद्घोष गरेका आले बोल्ने मात्रै होइन यसलाई गरेरै देखाउन दुई पटकसम्म आफै अनुगमनमा निस्किएका छन् । हरेक पटक यात्रुका गुनासा सुन्ने र यसको समाधानका लागि निर्देशन दिनुका साथै सबैजसो आलोचनाको केन्द्र बन्ने विमानस्थलका सबैखाले अनियमितताको अन्त्य गर्ने घोषणा गरेका छन् । मन्त्री आलेको यो उद्घोषले नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा उल्लेख्य सुधार हुने धेरैलाई आशा पलाएको छ । यसले विमानस्थलमा कार्यरत इमानदार कर्मचारी, नेपाली तथा विदेशी वायुसेवा कम्पनी, पर्यटन व्यवसायी र यात्रुसँगै सबै सरोकारवाला उत्साहित छन् ।

अनुगमनकै क्रममा कर्मचारीहरूलाई काममा इमानदार भएर लाग्न दिएको निर्देशन र नेपाल एयरलाइन्सको विमानले भोजपुर जाने यात्रु छाडेको विषयमा विभागीय मन्त्रीका हिसाबले माफी माग्दा उनको कद झनै उचो बनेको भन्दै यसको प्रशंसा भएको छ । आफू मन्त्री बनेसँगै आलेले यो क्षेत्रमा देखिनेगरि काम गर्न प्राधिकरणको महानिर्देशकमा सबैभन्दा सिनियर र अनुभवी राजकुमार क्षेत्रीलाई नियुक्त गरेका छन् । यसअघि विभिन्न आर्थिक चलखेल र राजनीतिक दाउपेचले वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई जिम्मा लगाउँदा प्राधिकरणभित्र चरम असन्तुष्टि थियो । यसले कर्मचारीमा निराशा बढ्ने र काममा समस्या हुने गरेको बुझेका धेरैलाई क्षेत्रीको नियुक्तिले हौसाएको मात्रै छैन, नागरिक उडड्यानको क्षेत्रमा उल्लेख्य फड्को मार्ने विश्वास जगाएको छ ।

बिहानीले दिनको सङ्केत गर्छ भनेछै मन्त्री आलेले क्षेत्रीलाई महानिर्देशक बनाएको दुई हप्ता नहुँदै यसको नतिजा हरेक क्षेत्रमा देखिन थालेको छ । आफूले महानिर्देशकको जिम्मेवारी पाएपछि विभागीय मन्त्रीको निर्देशनले देखिने गरि काम थालेको नवनियुक्त महानिर्देशक क्षेत्री बताउँछन् । हरेक क्षेत्रको चुस्त व्यवस्थापन र सहज सेवा प्रवाहका लागि संस्थाको सही भूमिकामा सही व्यक्तिको जिम्मेवारी पनि महत्त्वपूर्ण हुन्छ । यही बुझेर होला क्षेत्रीकै प्रस्ताव र विभागीय मन्त्रालयको परामर्शमा विमानस्थल प्रमुख पनि फेरिएका छन् । मन्त्रीको अनुगमनपछि अस्तव्यस्त विमानस्थलका कारण यात्रुले सास्ती पाएको गुनासो रोकिएको छ ।

यात्रुले तिर्नुपर्ने पीसीआर परीक्षणवापतको शुल्कमा उल्लेख्य कमी आएकाले राहत मिलेको यात्रुहरू बताउँछन् । आन्तरिक उडड्यानका यात्रुलाई ट्याक्सीमा महँगो शुल्क तिर्ने वा सस्तो दरको सार्वजनिक सवारी साधन खोज्न पैदल हिँड्नुपर्ने बाध्यता थियो । यसलाई हटाउन विमानस्थलभित्रै निःशुल्क सवारी साधनको व्यवस्थापन हुँदैछ । निर्मार्णाधिन पोखरा र भैरहवा विमानस्थलको कामले गति लिएको छ । लामो समयदेखि रोकिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट तत्काल गर्न मन्त्री आलेको निर्देशनपछि यसका काम अघि बढेको छ ।

आन्तरिक विमानस्थलमा यात्रुको आवश्यकतालाई मध्यनजर गरि देशभरका विमानस्थलमा भेन्डिङ मेसिन राख्ने काम हुँदैछ । काठमाडौँ विमानस्थलभित्रका पसलमा अत्याधिक मूल्य लिएको गुनासोपछि मन्त्रीले मूल्य घटाउन दिएको निर्देशन कार्यान्वयन भएको छ । सरकारी संयन्त्रमा रहेर काम गर्दा आफूले सरकारले दिएको निर्देशन अक्षरशः पालना गर्नुपर्छ । यो दौरानमा विभागीय मन्त्री आलेको सकारात्मक भूमिका र कुरा भन्दा काम गरेर देखाउने हुटहुटीले आफूलाई थप ऊर्जा मिलेको क्षेत्रीको भनाई छ । यसअघि विमानस्थल प्रमुख हुँदा गरेका उल्लेख्य कामले जनस्तरबाटै दोस्रो कुलमान भन्दै वाहिवाही बटुलेका क्षेत्री विभागीय मन्त्री आलेकै कारण पनि यसपटक नेपालको उडडयान क्षेत्रमा अझै धेरै र नवीन काम हुनेमा विश्वस्त छन् ।

विमानस्थल सुधारका कामसँगै आलेको सक्रियताले उनको कार्यकालमा मन्त्रालय मातहत उल्लेख्य काम हुने आशा पलाएको छ । आलेले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी बजारमा खरो उत्रन तत्काल ईटिकटिङ जान निर्देशन यसअघि नै दिइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार