नेकपा एमालेकी फरार सांसद मुख्यमन्त्रीलाई भोट हाल्न आउने चर्चापछि प्रहरी ‘अलर्ट’

नेकपा एमालेकी सांसद गुलेफुन खातुन मियाँ प्रदेश नम्बर १ का भीम आचार्यलाई विश्वासको मत दिन आउने चर्चापछि प्रहरी ‘अलर्ट’ बनेको छ । प्रहरी नजरमा ‘फरार’ सांसद मियाँ आचार्यलाई विश्वासको मत दिन चर्चापछि प्रदेश प्रहरी ‘अलर्ट’ बनेको हो । उनी मोरङबाट समानुपातिक सांसद हुन्।

आज मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् । सरकरी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिमाना सजायको फैसला सुनाएपछि फरार रहेकी उनी प्रहरीको खोजी सूचीमा छिन्। अदालतले दोषी ठहर गरे पनि पक्राउ नपरेको र जेल सजाय भुक्तान गर्नुपर्ने व्यक्ति संसदमा आसिन रहेको भन्दै चौतर्फी विरोध भएपछि २०७६ पुसदेखि उनी फरार बनेकी थिइन्।

खातुन र उनका पति शेख सिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको नाममा रहेको मोही जग्गाको हक हस्तान्तरणका लागि तत्कालीन कदमाहा गाविसको लेटरप्याड, छाप र गाविस सचिवको दस्तखत कीर्ते गरेका थिए ।

गुलेफुनका पति शेख दिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको ०६३ माघ १० गते र आमा खैरुन खातुनको ०६५ मंसिर १२ गते मृत्यु भएकोले तत्कालीन कदमहा गाविस–२ स्थित मधुसुदनराज पाण्डेको कित्ता नम्बर ११० को ७२८० वर्ग मिटर क्षेत्रफल जग्गामा आफ्ना बुवाको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि भूमि सुधार कार्यालय मोरङमा मुद्दा दर्ता गराएका थिए ।

खातुन र उनका पति शेख सिलावरले गाविसका तत्कालीन खरिदार विजय कामत र कार्यालय सहयोगी दिपचन्द मण्डललाई १ हजार रुपैयाँ घुस दिइ सरकारी छाप दस्तखत कीर्ते गरेको बताइएको छ ।

शेख धाई मियाँको शेख सिलावर र दिलावर मियाँ दुई भाइ छोरा रहेको तर शेख सिलावरले आफू एक मात्र छोरा रहेकोले एकलौटी मोहियानी हक हस्तान्तरणका लागि कीर्ते गरी मिति २०७१ चैत ४ गतेको चलानी नम्बर ४८७ को गाविसको सिफारिस पत्र भूमि सुधार कार्यालय मोरङमा बुझाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार