जुवा अखडामा प्रहरीको छापा : १७ जना पक्राउ

झापाको दमकस्थित एउटा घरमा सञ्चालन भएको जुवा अखडामा छापा मारेर प्रहरीले गएराति १७ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकले कौडा र नगदसहित गएराति पौने १२ बजे उनीहरुलाई समातेको हो । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्की नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

हिमाल देवानको घर कम्पाउण्डको पछाडीपट्टी जस्ताको छाना भएको एक तले भान्सा कोठामा पैसाको बाजी थापी कौडा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । कौडा खेलिरहेको ठाउँबाट १६ थान कौडा र चार लाख २७ हजार ६ सय नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताए ।

पक्राउ पर्नेमा भद्रपुरका युवराज न्यौपाने, दिलबहादुर राई र ठाकुरप्रसाद निरौला, बिर्तामोडका तीर्थ अधिकारी, गौरादहका हरि कोइराला, कमल गाउँपालिकाका सुबिन्द्र सुब्बा, कन्काई नगरपालिकाका मोहन बराल र सुनिल साह, मोरङ ग्रामथान गाउँपालिकाका लक्ष्मीप्रसाद अधिकारी, नैनकुमार चौधरी र रुपेश तामाङ, पथरी शनिश्चरे नगरपालिकाका बलराम बस्नेत र गंगाराम मगर, बेलबारी नगरपालिकाका निशान पोखरेल, दमक नगरपालिकाका कर्ण राई, राजन दाहाल र विनोद थेवे छन् ।

जुवाको अखडाबाट भाग्ने क्रममा एकजना लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार