मदानी, उनिउँको फूल र समयको रुमाल पुस्तक सार्वजनिक

गोदावरी साहित्य परिषद्ले एकैपटक तीन पुस्तक बजारमा ल्याएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, सदस्य डा देवी नेपाल, परिषद्का अध्यक्ष वशिष्ठ अधिकारी, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलगायतले आज एकैसाथ ‘मदानी’, ‘उनिउँको फूल’ र ‘समयको रुमाल’ नामक पुस्तक विमोचन गरेका हुन् ।

अधिकारीद्वारा लिखित ‘मदानी गजल सङ्ग्रह’मा मानवीय जीवन र जगत्को सार बताउने ७७ गजल, परिषद्का सचिव रत्न विरही घिमिरेद्वारा रचित ‘समयको रुमाल’मा ६७ छन्द कविता रहनाका साथै कार्यसमिति सदस्य सावित्री न्यौपाने पौडेलद्वारा लिखित ‘उनिउँको फूल’ पुस्तकमा २२९ मुक्तक सङ्ग्रह छन् । कार्यक्रममा उपाध्यायले साहित्यले मनोरञ्जन प्रदान गर्नुका साथै हरेक मानिसलाई मानसिकरूपमा स्वस्थ्य बनाउने भएकाले सो पुस्तक सबैलाई एकपटक पढ्न आग्रह गरे ।

किटिनी माध्यमिक विद्यालयका शिक्षक जनार्दन शर्माले विद्यार्थी वर्गले पाठ्यक्रमबाहेक अन्य पुस्तक खासै अध्ययन नगर्ने भएकाले साहित्यतर्फ कम आकर्षण देखिएको औँल्याए । गोदावरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जगनाथ महर्जनले परिषद्लाई आर्थिकरूपमा सबल बनाउँदै लाँदा साहित्यले विश्वका विभिन्न मुलुकमा समेत प्रभाव पार्न सक्ने हुँदा त्यसतर्फ ध्यान दिन जोड गरे । यसैगरी परिषद्ले आज वातावरणमैत्री गीत ‘हाम्रो धर्ती’ सार्वजनिक गर्नुका साथै गोदावरी नामक पहिलो मुखपत्रसमेत लोकार्पण गरी केही व्यक्तिलाई सम्मानसमेत गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार